कर्णालीमा चिकित्सक र सुरक्षाकर्मीसहित २८ जना संक्रमित थपिए

३० भदौ, सुर्खेत । वीरेन्द्रनगरका २२ जनासहित कर्णालीमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका तीन जिल्ला र अन्य प्रदेशका चार जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दुईजना सुरक्षाकर्मी, चारजना बैंकका कर्मचारी, एकजना विश्वविद्यालयका शिक्षक, एकजना पत्रकार, चारजना स्वास्थ्यकर्मी, पाँचजना बिरामी र एकजना चिकित्सकमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनु भयो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका २२ जना, दैलेख, सल्यान, बझाङ, सर्लाही, बाँके र दाङका एक÷एकजना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले पुष्टि गर्नु भयो ।
सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै २२ जनामा संक्रमण देखिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का १० जना महिलासहित १२ जना पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २८६३ पुगेको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप ३९ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५७० पुगेको छ ।
मंगलबारसम्ममा प्रदेशभर २८७ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस