जुम्लाका किसानले भोग्नु परेका समस्यावारे प्रधानमन्त्रीलाई खुल्लापत्र

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू
नेपाल सरकार, सिंहदरवार काठमाडौं ।

आफ्नै पालामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्ने हुटहुटीले उद्वेलित भएर अलिअलि जालझेल, छलछाम र तिकडमको सहारा लिएर, लोकतन्त्रको उपहास र निर्वाचित जनप्रतिनिधिको उपेक्षा गरेको अपजस समेत खेप्न तयार हुँदै यहाँ र नेपाली कांग्रेसका सभापतिको चोचोमोचोबाट प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन हुनुभएको छ । यहाँहरूको मध्यरातको मिलनलाई आम नेपाली, मतदाता, निर्वाचित सांसद र तपाईंका सहयात्री नेता कार्यकर्ताले अनुमोदन गरेका छन् कि छैनन्, तपाईं जस्तो खारिएको नेताले आफैं मूल्याङ्कन गर्नुभएकै होला ।

प्रचलित संविधान र कानुनको छेडखानी, छुद्र वचन र पल्टु जस्ता तपाईंका केही प्रवृत्तिले अहिले नै धेरै भरोसा गरिहाल्न सक्ने स्थिति त छैन तर दुई ठूला दलका यहाँहरू जस्ता पुराना नेता र पार्टीलाई ‘गरेर देखाउने’ यो अन्तिम अवसर छ । कम्तीमा यो कालखण्डमा तपाईंले पाएको यो ठूलो मौका हो ।

समृद्धिको लामो यात्रामा तपाइँको दुईवर्षे कार्यकालमा कायापलट त हुँदैन तर यहाँले चाहेमा, गरे हुन्छ भन्ने आश जगाउन अझै पनि सक्नुहुन्छ । सदा झैं उखान टुक्का र अरुलाई धारेहात लगाएर समय खेर फल्नु हुनेछैन । यही आशयमा यो खुल्लापत्र लेखेको हुँ । यसैगरी बुझिदिनुहोला ।

अहिलेको संवैधानिक तथा कानुनी दायराभित्र रहेर नेपाल र नेपालीको भविष्य कस्तो हुने भन्ने कुरा यो पदमा आसीन हुने व्यक्ति, उसको दृष्टिकोण, अडान र मातहत निकाय र पदाधिकारीको परिचालन गर्ने नेतृत्व क्षमतामा भर पर्छ । त्यसो त यहाँले यस्तो संवैधानिक दायराभन्दा माथि रहेर काम गर्न सक्ने औकात दुईपटक संविधान विघटन गर्ने हठ गरेर र अहिले अँध्यारो बन्द कोठामा यसैको तयारीमा चोचोमोचो मिलाएर संकेत गरिसक्नुभएको छ ।

यसलाई समय सन्दर्भको संयोग मात्र मानेर, तपाईंले गरेको प्रस्ताव संविधानको कार्यान्वयनका जटिलता सम्बोधन गर्न यसको पुनरावलोकनको बहस गरी निर्णयमा पुग्ने समझदारी भन्नेसम्म अर्थ लगाएको छु । यसको निर्णय त सार्वभौम नागरिकले गर्ने होला नि ? अब्राहम लिंकनले कुनै एउटा प्रसंगमा भनेका थिए– ‘हजार जनता मूर्ख भएर देशलाई खासै फरक पर्दैन तर एउटा नेता मूर्ख भए देश बर्बाद हुन्छ ।’

म केही गर्छु भन्ने सबैलाई शंकाको लाभ दिनुपर्छ भन्ने मान्यता राख्दछु । यहाँलाई त्यो सुविधा नदिने कुरै छैन । गल्ती जानेर वा नजानेर सबैले गर्छन् र मूर्खले बाहेक सबैले आफ्ना गल्ती, कमजोरीबाट ढिलो चाँडो सिक्छन् र सच्याउँछन् भन्ने ठान्दछु ।

म भष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ, यहाँको योे जवाफलाई म कदापि सानो प्रतिबद्धता ठान्दिनँ । भलै, यहाँले भ्रष्ट बचाउन बेला–बेला आँखा सन्काएको आरोप छ । सँगै, नेपालको चुच्चे नक्शा बनाउन यहाँको मुख्य भूमिका रहेकाले, यो भूमि फिर्ता ल्याएर गौरव गर्ने मौका चुकाउन हुँदैन भन्ने ठान्दछु ।

सम्माननीय प्रधामन्त्री ज्यू

यी त तपाईंप्रति केही गुनासा र गुणगानका कुरा भए । अब लागौं, सुझावतिर ।

यहाँले नीतिगत सुधार, आर्थिक सुधार र सेवा प्रवाहमा सुधारका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनुहोस् । भ्रष्टाचार शून्य सहनशीलताको यहाँको थेगोलाई विश्वसनीय बनाउन गिरीबन्धु, भुटानी शरणार्थी, सुन तस्करी र सहकारी ठगहरू सबैलाई कारबाहीको दायरामा ल्याएर यो शंका निवारण गरिदिनुहोस् ।

सरकार र दाताका विकास, खरिद ऐन र कर्मचारीतन्त्रको पुनरावलोकन गर्ने आँट गरेर संरचनागत परिवर्तनका स–साना पहल गर्नुहोस् । यसो गर्न बाधा पुगे संविधान नै फेर्ने प्रस्ताव ल्याउनुहोस् । यी सबै गर्ने यसपटक यहाँलाई ठूलो मौका छ । किनकी संसदमा तपाईहरुको बहुमत पनि पुग्छ ।

यहाँले प्रधानमन्त्री बन्ने लगभग तय भएसँगै कृषि र शिक्षा प्राथमिकतामा रहेको जिकिर गरेको पढेकोे थिएँ । त्यो पढेर खुशी हुने कि दुःखी अलमलम भए । शिक्षा क्षेत्र सुधार गर्न अघिल्लो पटक तपाईं प्रधानमन्त्री हुँदा बनाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदन अहिले ६ वर्षपछि बल्ल सार्वजनिक भएको छ ।

संविधानको भावना अनुरूप शिक्षा सुधार गर्न प्रस्ताव गरिएको उक्त प्रतिवेदन सार्वजनिक गरेर यसका सुझाव मात्र ख्याल गरेको भए अहिलेसम्म धेरै कुरा सुधार भइसकेको हुने थियो । तर यहाँकै आनाकानीले यो सार्वजनिक समेत भएन । यो गुमेको मौका ठानेर ढिलै भए पनि अहिले सार्वजनिक भएको प्रतिवेदनका उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने सुझबुझ राख्नु भए बेस होला ।

सम्माननीय प्रधामन्त्री ज्यू

अब जुम्ली स्याउको बजार व्यावस्थापन र उत्पादन बढाउन के गर्न सक्नुहुन्छ केही सुझाव थप्ने अनुमति चाहन्छु ।

सबैभन्दा पहिले, केन्द्रले कर्णाली प्रदेश र त्यसैमा साविकको कर्णाली अञ्चललाई हेर्ने दृष्टिकोण नबदल्ने हो भने थप केही भन्नु छैन । अन्यथा जुम्लाको अर्गानीक उत्पादन स्याउ, ओखर, सिमी र कालो मार्सीधानलाई उत्पादनमा वृद्धी र बजारीकरण नगरी यहाँका जनताको जीवनमा समृद्धि हुदैन । यस कुरालाई बुझ्न उत्पादन र बजारीकरणको सन्दर्भमा यो खुल्लापत्रले सहयोग गर्ने अपेक्षा गरेको छु ।

हुन त स्याउ र जुम्ला पर्यायवाची शब्दजस्तै भएको छ । कसैले परिचय लिँदा जुम्ला भन्दा स्याउको कुरा आउँछ । स्याउले नै जुम्लाको पहिचान बनेको छ । जुम्लाको स्याउ भनेपछि सबैको मुख रसाउँछ । कारण जुम्लाको स्याउ अर्गानिक हुन्छ, भन्ने मान्यता छ । जुम्लाको स्याउमा कीटनासक रासायनिक औषधि प्रयोग हुदैन् । त्यही भएर पनि जुम्लाको स्याउको माग नेपालका ठूला सहर काठमाडौं, पोखरा, विराटनगरमा समेत हुने गरेको छ ।

त्यसो त अर्गानीक उत्पादन स्याउ, ओखर, सिमी र कालो मार्सीधान, फापर, चिनो, कागुनोको लागि जुम्ला प्रख्यात मानिन्छ । नेपालका गाउँघरमा स्याउको व्यावसायिक खेती हुनु अघिदेखि नै स्याउका लागि जुम्ला प्रख्यात मानिँदै आएको छ ।जुम्लाको स्याउ नेपालको लगभग सबै क्षेत्रमा पाइन्छ । जुम्लामा अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ उत्पादन हुन्छन् ।

जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ व्यापारीले सुर्खेत, नेपालगन्ज, धनगढी, दाङ, बुटवल, नारायणगढ, पोखरा काठमाडौ हुदै पुर्व झापासम्म पुर्याएर बिक्री–वितरण हुने गर्दछ । नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ । बजार अभाव, सडक, भण्डारण अभावले जुम्लाको स्याउ ओझेलमा पर्दै आएको छ । अहिले जुम्लाको स्याउको मुल्य छैन । यो कुरामा सरकार गम्भीर होस र वजारिकरणमा विशेष पहल होस भन्ने आसा गर्छु ।

विडम्बना ! स्याउ किन्न आएका व्यापारीले राम्रो मूल्य दिदैनन् । बजारमा एक किलोको २ सय पचास रुपैयाँदेखि ३ सय रुपैयाँमा बिक्री भइरहेको स्याउको व्यापारीले प्रतिकिलो ५०/६० रुपैयाँ मात्रै दिँदा दुःख अनुसार किसानहरूले उचित मूल्य पाएका छैनन् । मेहनत गरे अनुसार राम्रो उत्पादन भए पनि स्याउ सस्तोमा बेच्नुपर्दा किसानहरू मर्कामा छन । तर विचैलीया मोटाउने गरेका छन ।

यसलाई सरकारले समयमै बुझेर जुम्लाको अर्गानीक उत्पादन स्याउ, ओखर, सिमी र कालो मार्सीधान लगायत परम्परागत रैथान बालीको उत्पादन, प्रवद्र्धनका लागि कृषिमा अनुधान र बजारीकरणका लागि सडकको पँउज विस्तार, भण्डारणको लागि कोल्ड स्टोर लगायतको कृषिमा आधुनिकरण गर्न विशेष ध्यान जान जरुरी छ ।

सम्माननीय प्रधामन्त्री ज्यू

जुम्लाको कृषि प्रणाली मूलतः स्याउ, ओखर, सिमी र कालो मार्सीधान लगायत परम्परागत रैथान बालीमा आधारित छ । यसका आफ्नै विशिष्ट सम्भावना र सीमाहरू छन् । यहाँ उच्चकोटिका औषधिजन्य जडीबुटीको अपार भण्डार र पशुपालनका लागि उपयुक्त क्षेत्र पनि हो । यो अवस्थामा जुम्लालाई स्याउमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवद्र्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित गरिनु पर्छ ।

जुम्लालाई आर्थिक रूपले सबल, सामाजिक न्याय र समानता दिने कुरामा यहाँको विमति हुँदैन भन्ने ठान्दछु । यहाँ किसान मुक्ति आन्दोलनको नेतृत्व गरेकै कारण निरंकुश शासकको फन्दामा परी १४ वर्ष जेल जीवन बिताउनु परेको सुनेको छु । यस्तो किसान आन्दोलनको नेता नै राज्यप्रमुख हुँदा किसानको उत्पादन र आम्दानी वृद्धि तथा रोजगारीका अवसर सृजना गर्ने विषयलाई केन्द्रमा राख्नुहुनेछ भन्ने विश्वास गरेको छु । किसानको समस्या समाधान हुनेछ भन्ने अपेक्षा गरेको छु ।
धन्यवाद !

नरेन्द्र तिरुवा, जुम्ली युवा
खलंगा, जुम्ला 

प्रतिक्रिया दिनुहोस