२९ असोज, कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तीन दिनदेखि कपिलवस्तुमा जारी केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवको नेतृत्वमा कम्युनिष्ट केन्द्र गठन, पार्टी एकता र आगामी निर्वाचनकाबारे सुझावहरु केन्द्रीत भएका छन ।
बुधवारको बैठकमा पोलिट व्यूरो सदस्यहरु र केही स्थायी समितिका सदस्यहरुले महासचिव विप्लवको राजनीतिक प्रस्तावमाथि सुझावहरु राखेका छन । बैठकमा पोलिट व्यूरो सदस्य र स्थायी समितिका सदस्यहरुले महासचिव विप्लवको नेतृत्वमा कम्युनिष्ट केन्द्र गठन, पार्टी एकता र आगामी निर्वाचनकाबारे आ–आफ्ना सुझावहरु राखेका हुन ।
सोमबार र मंगलवार बोल्ने अधिकांश केन्द्रीय सदस्यले महासचिव विप्लव सीको राजनीतिक प्रस्तावमाथि धारणा राख्दै महासचिव विप्लवको नेतृत्वमा कम्युनिष्ट केन्द्र बनाएर एकता र धुव्रीकरणमा जानुपर्नेमा सुझाव दिएका थिए ।
महासचिव विप्लवले बैठकमा ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शिर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नु भएको छ ।
भोलि (विहिवार)को बैठकमा बोेल्न वाँकी स्थायी समितिका सदस्यहरुले धारणा प्रस्तुत गरेपछि महासचिव विप्लवले उठेका प्रश्न र सुझावमाथि जवाफ दिने कार्यक्रम छ ।
बैठकमा यसअघि नै नेकपाले गरेको दल दर्ताको निर्णय कार्यान्वय गर्नु पर्ने र आगामी निर्वाचनमा भाग लिनुपर्ने सुझाव पनि केन्द्रीत भएका छन ।
फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनेबारे भने बैठकले आधिकारिक निर्णय गर्न बाकी रहेको नेकपा श्रोतले बताएको छ ।
नेकपाको मुखपत्र जनपत्रिका श्रोतले पार्टी एकताका लागि विचार, राजनीति र नेतृत्वको विषय स्पष्ट नभएसम्म तत्काल कोहीसंग एकताको सम्भावना नरहेको पनि प्रष्ट्याएको छ । बैठक जारी रहेको र विहिवार सकिने जनाईएको छ ।