नेकपा र चिकपा समान दक्षिणपन्थी संशोधनवादी संगठन हुनः मसाल

असाेज २८, काठमाडौं । नेकपा (मसाल) ले चिनियाँ कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थी संशोधनवादी तथा चिनलाई साम्राज्यवादी मुलुकको दिशामा अगाडि बढेको टिप्पणी गरेको छ ।

शनिवार नेकपा (मसाल) पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गरी चिनिया राष्ट्रपति सिको भ्रमणलाई स्वागत गर्दै यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले आफ्नो वक्तव्यमा चिनियाँ साम्राज्यवाद सितको सम्बन्धले नेपालको राष्ट्रियता तथा विकास समेतका लागि बढी महत्व राख्दछ भने भारतीय साम्राज्यवादको नेपाल प्रतिको नीति अत्यन्त आपत्तिजनक रहँदै आएको उल्लेख गर्नु भएको छ ।

नेकपा (मसाल) ले नेकपा र चिकपालाई समान संशोधनवादी संगठन भएको पनि बताएको छ । वत्तव्यमा चिनको कम्युनिष्ट पार्टीले लिएको दक्षिणपन्थी संशोधनवादी दिशा र त्यसको साम्राज्यवादी स्वरूपको विरोधको नीतिलाई सुरक्षित राख्दै चिनसितको मैत्रीपूर्ण सम्बन्धको विस्तारको नीतिमाथि आफनो पार्टीले जोड दिंदै आएको उल्लेख छ ।

अहिले भारतीय साम्राज्यवाद र चिनियाँ साम्राज्यवाद प्रतिको नीतिमा केही अन्तर गरेको पनि मसाले जनाएको छ । वक्तव्यमा भनिएको छ ‘उत्तरमा चिनको उपस्थितिले गर्दा नेपालमाथि सिधै र प्रत्यक्ष रूपले हमला गरेर नेपालमाथि कब्जा जमाउनु भारतका लागि सजिलो भएको छैन ।

तैपनि भारतले अन्य तरिकाद्वारा नेपालमा आफ्नो आधिपत्य कायम गर्न गत सात दशकदेखि नै लगातार र योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । ’

प्रतिक्रिया दिनुहोस