असोज २८, काठमाडौं । जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्।
साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो। ‘जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएपछि हाम्रो टोलीले आन्तरिक टर्मिलनको भीआईपी कक्षबाट पक्राउ गरेको हो’, अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भन्नु भयाे ‘उहाँलाई अब जनकपुर नै पठाउने तयारी गरेका छौँ।
‘ जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्दै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जनकपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको जाहेरीमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधपछि अदालतले प्रतिनिधि सभाका सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो।
थापाका अनुसार साह ओखलढुंगा जानका लागि आन्तरिक टर्मिनलको भीआईपी कक्षामा बसिरहनु भएकाे थियाे । साहले सोमबार ११ बजेर २० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो साढे १ बजेसम्म पनि नआएको भन्दै आक्रोशमा आएर जनकपुर विमानस्थल स्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्नु भएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताउनु भयाे । बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि दुर्व्यवहारमा संलग्न साहमाथि कारवाही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले सोमबारै दिएको थियो ।
सोमबार विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले निकालेको विज्ञप्तिमा दोषीउपर सात दिनभित्र कारवाही नभएमा जनकपुर विमानस्थलमा सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी दिनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस