२९ कार्तिक, कालिकोट । नेकपा एमालेले आज कालिकोट सहित देशैभरि जनसभा गर्न लागेको छ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज कालिकोटको सदरमुकाम मान्ममा जनसभा गर्न लागेको हो ।
एमालेले देशका प्रमुख शहर तथा जिल्ला सदरमुकामहरुमा आजै जनसभा गर्ने तयारी गरेको छ । कालिकोटमा हुने जनसभाका लागि सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ । प्रतिमा चोकबाट प्रदर्शन गर्दै जिल्ला समन्वय समितिको मैदानमा जनसभा गर्ने एमालेको तयारी छ ।
एमालेका जिल्ला कमिटी सचिव पुष्पराज आर्चायले जनसभाको प्रचार प्रसार व्यापक भएको र जनसभा भव्य हुने जानकारी दिनु भयो ।
एमालेले पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला गरेको छ । २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु गरेको छ । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरूमा जनसभा गर्न लागेको हो । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गर्ने एमालेले जनाएको छ ।