४ फागुन, कालिकोट । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का आह्वान भएको छ ।
सडक विभाग, उत्तर–दक्षिण÷व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिले ५० किलोमिटर कालोपत्रेका लागि फागुन २ गते (शुक्रवार) ठेक्का आह्वान गरेको हो ।
बाजुराको पिली चौरदेखि बाजुराको कुवाडीसम्म २३ किलोमिटर ७०० मिटर र कुवाडीदेखि हुम्लाको सर्केगाँड गाउँपालिका–१ तुम्चासम्म २७ किलोटिमर ३०० मिटर गरी ५० किलोमिटरको ठेक्का आह्वान गरिएको छ ।
उत्तर–दक्षिण÷व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिका प्रमुख तुलाराम शर्माले दुई भागमा ४ अर्ब २३ करोडमा ठेक्का आह्वान गरिएको बताउनु भयो ।
यो ठेक्का तीन वर्षमा काम सक्ने गरी आह्वान गरिएको छ । कर्णाली करिडोरको यो क्षेत्र कालीकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सरिसल्लासम्म १२३ किलोमिटर रहेको छ । यो सडकको ट्रयाक भने नेपाली सेनाले खोलेको थियो ।
यो वर्ष ५० किलोमिटर कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको भए पनि अर्को वर्ष भने कालीकोटको खुलालुदेखि बाजुराको पिली चौरसम्म ६० किलोमिटरको ठेक्का आह्वान गर्ने कार्यलय प्रमुख शर्माले बताउनु भयो ।
यो सडकखण्डको बाँकी रहेको हुम्लाको तुम्चादेखि सरिसल्लासम्मको १३ किलोमिटरको ठेक्का पनि आगामी वर्षमा गर्ने कार्यलयले बताएको छ ।

यो सडक सरकारले गौरवको आयोजनासँगै त्रिदेशीय मार्गका रुपमा राखेको छ । यो मार्गले भारत, नेपाल र चीन जोड्ने छ । यो सडक २०६४ सालमा कालीकोट–हुम्ला–जुम्ला सडक आयोजनाले सुरु गरेपनि काममा ढिलासुस्ति भएपछि निर्माणको जिम्मा नेपाली सेनालाइ दिइएको छ । सेनाले २०७१ चैतबाट काम सुरु गरेको थियो ।
लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटतालगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । सेनाले ट्रयाक खोली सकेपछि २०८० पुस १५ गते सडक विभागलाई कालीकोट खुलालुदेखि ११२ किलोमिटर जिम्मा दिएको थियो । ११ किलोमिटरमा भने अहिले पनि सेनाले काम गरिरहेको छ ।
सडक विभागलाई नेपाली सेनाले जिम्मा लगाएपछि सडक विभाग, उत्तर–दक्षिण÷व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना नामाकरण दिएर सडक स्तोरउन्नती सँगै कालेपत्रेको काम सुरु गरिने भएको हो । यो सडक कालोपत्रे भएपछि कालिकोट,वाजुरा, मुगु, हुम्लाका जनतालाई निकै सुविधा हुनेछ । मानसरोवर र रारा जाने पर्यटकहरुका लागि पनि यो सडक बनेपछि सहज हुने अनुमान गरिएको छ ।
