राजनीति र नैतिक रुपमा विजयी भएका छौः प्रकाण्ड सी

२ चैत्र, कालिकोट । नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले कालिकोटमा राजनीति र नैतिक रुपमा पार्टी विजयी भएको बताउनु भएको छ ।
तीन दिनसम्म माल्कोटमा चलेको पार्टीको चुनावी समिक्षा कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले चुनावमा पार्टीले राजनीति र नैतिक रुपमा विजयी प्राप्त गरेको बताउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘हामीले नोट दिन नसकेर भोटको चुनाव हारे पनि राजनीति र नैतिक हिसावले चुनाव जितेका छौ । फागुन १८ र १९ गतेसम्म हाम्रो पार्टीको पक्षमा जनलहर उर्लिएको थियो । तर एकाएक साम्राज्यवादी डलर गाउँ गाउँमा पुर्याएर जनतालाई प्रलोभनमा पारेर किनेर चुनाव जित्नु ठुलो कुरा होईन, गाउँ गाउँमा नोट वितरण गरिएको सूचना छ, रक्सी मासु र एक वोरा चामलमा भोट किनिएको छ, यसले जनताले स्वतन्त्रतापूर्वक आफ्नो मत दिन पाएनन् । यो पुँजीवादीहरुले अनैतिक रुपमा गर्ने चुनाव हो । हामीले ल्याएको करिव ५ हजार भोट राजनीति र नैतिक रुपमा उच्च छ र विजयी पनि छ ।’

उहाँले मतदातालाई किनेर चुनाव जित्नुको कुनै अर्थ नहुने बताउदै बाध्यताले मत बेच्ने जनताहरु विस्तारै पछुताउन थालेको बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले साम्राज्यवादले केपी ओली र आफूलाई चुनाव हराउने पहिलो सुचीमा राखेकाले पनि पैसा प्रयोग गरिएको खुलासा गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले चुनावमा हार र जितको कुरा ठुलो नभएको भन्दै सबैभन्दा देशको स्वाधीनता बचाउने वा गुमाउने भन्ने कुरा ठुलो भएको बताउनु भयो ।
रुसमा लेनिनले आफ्नै सत्ता हुदा पनि संविधान सभाको चुनावमा अल्पमत आउदा विघठन गरेको इतिहासँ कोट्याउदै हार नै जितको हतियार भएको जिकिर गर्नु भयो ।
उहाँले चुनावमा भोटहाल्ने मतदाता र पार्टी कार्यकर्तालाई विशेष धन्यवाद दिदै निरास नहुन आग्रह पनि गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले चुनाव एकीकृत जनक्रान्तिको एउटा मोर्चा मात्र भएको भन्दै एउटा मोर्चा हार्दैमा क्रान्ति नरोकिने टिप्पणी गर्नु भयो ।

देशभरको चुनावी परिणामले स्वाधीनताका पक्षधरहरुलाई झस्काएको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले सम्पूर्ण क्रान्तिकारी,वामपन्थी र प्रगतिशील शक्तिहरुले देश बचाउनको लागि नयाँ संघर्र्षको मोर्चा खोल्नु पर्ने अवस्था आएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा पार्टीका पोलिट व्यूरो सदस्य एटम सी, केन्द्रीय सदस्यहरु विराट सी, भृकुटी सी, विवेक सी, नरेन्द्र सी, अखिल सी, अडिक सी, केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु, प्रत्येक वडा कमिटीका इन्चार्जहरुले चुनावी अभियानमा गरेका काम, भएका कमजोरी र सुधार गर्नुपर्ने विषयमा आ –आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस