संविधान कार्यान्वयन र लोकतन्त्र सुदृढिकरण गर्न दलहरुको सहकार्य आवश्यक ः राष्ट्रपति

 

३ चैत्र,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।
मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उहाले मुलुकको राजनीति सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएकोले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरुबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको हो ।
‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’, राष्ट्रपति भण्डारीको भनाइ उधृत गर्दै राष्ट्रपति कार्यालयले जारी गरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल उपस्थित हुनुहुन्थ्यो ।

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइरालाको उपस्थित थियो भने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।
बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ,जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस