समाजवाद ल्याउने सर्तमा सबै कम्युनिस्टहरू एक हुनुपर्छ: नेता भरत सी

३ बैशाख, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सिले समाजवाद ल्याउने सर्तमा सबै कम्युनिस्टहरूकाे एक हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी रास्कोट नगर कमिटीकाे आयोजनामा शनिबार नयाँ बर्षको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको सम्बोधन गर्दै नेता भरत सीले यस्तो बताउनुभएको हाे ।

नेता भरत सीले दलाल पुँजीवादी व्यवस्था बदल्ने सर्तमा नेपालका माओवादी घटक तथा सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा राष्ट्रघात, भ्रष्टाचार र महंगीले सिमा नागेकाे भन्दै याे दलाल संसदीय पुँजीवादी व्यवस्था सुकेको खर भएको र त्यसलाई आगाे लगाउनुपर्ने बताउनुभयो ।

नेता भरत सीले एमसिसीकाे गलत सम्झौताले देश साम्राज्यवादको किडा स्थल भएको भन्दै राष्ट्रियताको पक्षमा सबै राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरू एक हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “यो देशको सिष्टमा भ्रष्टाचार छ, संसदीय व्यवस्था नै भ्रष्टाचार, कमिसनको अखडा स्थल हाे । याे व्यवस्था बदल्नुकाे बिकल्प छैन ।”

उहाँले नेकपा आगाेकाे झिल्काे भएको भन्दै देशमा भएको सबै विकृतिहरूको खरमा लगाउन बेर नहुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो “असफल भएको जनयुद्धको जगमा उभिएर एकीकृत जनक्रान्ति मार्फत नेपालमा बैज्ञानिक समाजवाद ल्याउछाैं ।”

नेपालमा जनताको मुख्य दुश्मन दलाल पुँजीवादी व्यवस्था भएको ठोकुवा गर्दै नेता भरत सीले यो जन विरोधी र राष्ट्र विरोधी भएको र परविर्तन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले बैज्ञानिक समाजवाद नै अहिलेको मुख्य निकासको बाटो भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका संयोजक विराट सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सी, सेक्रेटरी शाहसी सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त बिक लगायतका अतिथिहरू सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवार स्थानिय विभिन्न देउडा, झाँक्रीहरूकाे प्रस्तुति रहेको थियो ।

रास्काेट नगर कमिटी इन्चार्ज निर्देशन सीकाे अध्यक्षतामा रहेको कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य रमेश सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस