२ जेष्ठ, कैलाली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देश आर्थिक रूपमा कमजोर हुँदा बिदेशी हस्तक्षेप बढेको बताउनु भएको छ।
नेकपा सुदूरपश्चिम उत्पादन बिभागद्वारा शुक्रबार कैलालीको रतिपुरमा आयोजना गरेको ‘किसान सँग विप्लव कार्यक्रम’ लाई सम्बोधन गर्ने क्रममा उहाँले त्यस्तो बताउनु भएको हो।
उहाँले देश आर्थिक हिसाबले परनिर्भर र बिदेशी रिण अनुदानमा चलेको भन्दै राजनीतिक दलहरूले आफ्नो व्यक्तिगत स्वार्थमा देशको दीर्घकालीन हित सँग सम्झौता गरेको बताउनुभयो ।
महासचिव विप्लवले शिक्षा, स्वास्थ्य बाटोघाटो लगायत बिकासका केहि कुराहरूमा सुधार भएका छन् तर कृषि लगायत केहि कुरामा गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले कुनै बेला इष्ट ईन्डिया कम्पनीका कारण करिब २ सय बर्ष भारत पराधीन बनाएको सन्दर्भ उल्लेख गर्दै नेपालमा पनि अहिले त्यस्तै अवस्था आएको बताउनुभयो ।
देशको राजनीतिक बिकृति र दलालीको कारण जनताले पाएको दुखलाई हेर्दा नेपाल कम्युनिस्ट पार्टी कृषि उत्पादन र व्यापारतिर लाग्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।
उहाँले पार्टीलाई क्रमश चन्दाबाट मुक्त गर्ने उदेश्यले उत्पादनमा फर्किएको भन्दै त्यस अनुसार उत्पादन सम्बन्धि नीति बनाएको उल्लेख गर्नुभयो ।
अध्ययनहरुले तराईको जमिनबाट मात्रै १२ करोडलाई खान पुर्याउन सकिन्छ । तर अहिले मात्रै ३ करोड जनसंख्यालाई पनि पुगेको छैन । त्यो अवस्थालाई बदल्न पार्टीका नेताकार्यकर्ता श्रमशील बनाएर मात्रै जनता र समाजको वास्तविकता बदल्न सकिन्छ भन्ने आफूहरुको धारण रहेको महासचिव विप्लवको भनाइ थियो ।