२ जेठ, कैलाली । कैलालीका किसानहरुले नेकपाका महासविच विप्लवसंग कृषि उत्पादनमा आफूहरुलाई राज्यको अभिभावकत्व नभएको दुखेसो पोखेका छन ।
किसानहरुले कृषिमा वास्तविक किसानहरुले राज्यको सहयोग पाउन नसकेको गुनासो गर्दै कृषिमा पनि दलालीकरण हुन थालेकोमा नेकपाका महासचिव विप्लवसंग चिन्ता व्यक्त गरेका छन ।
किसानहरुले आफ्ना समस्याहरु समाधानका लागि कृषि उत्पादनमा लागेको एउटा नेताको हैशियतले विप्लवलाई पहल गरिदिन पनि आग्रह गरेका छन ।
शुक्रवार जिल्लाको घोडाघोडी नगरपालिका वडा न ९ रतिपुरमा ‘किसानसङ्ग विप्लव’ कार्यक्रममा सहभागी किसानहरुले प्रत्येक्ष रुपमा आफ्ना कुरा राख्दै महासचिव विप्लवसंग यस्तो दुखेसो पोखेका हुन ।
देशको कृषि प्रणाली, स्थानीय किसानका समस्या र कृषि क्षेत्रलाई कसरी राम्रो गर्न सकिन्छ ? भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा किसान अगुवाहरुले आफ्ना अनुभव , भोगाइ र राज्यको गलत नीतिका कारण जनताले दुख पाईरहेको कुरा विप्लव समक्ष राखेका छन ।
युवा किसान राजेश चौधरीले आफूले उत्पादन गरेको कृषि उत्पादन आफैले मूल्य निर्धारण गर्न नपाएको दुखेसो पोख्नु भयो ।
उहाँले बजारमा व्यापारीले किसानले उत्पादन गरेको बस्तुको मूल्य निर्धारण गर्ने स्थिति रहेको भन्दै कृषि उत्पादनमा पनि दलाली हुने गरेको बताउनु भयो ।
किसान चौधरीले वास्तविक किसानहरुले मल विउको सुबिधा नपाएको र पाएपनि मल विउ र अनुदानमा दलाली हुने गरेको गुनासो पोख्नु भयो ।
किसान अगुवा गगनसिंह बटालाले अरु नेताहरु भोट माग्न आएपनि विप्लव भने कृषि उत्पादनमा लागेको पाउदा खुसी अनुभूति गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘अहिले सम्म विभिन्न पार्टी आए, उनीहरु भोट माग्न आए । तर किसानको लागि कृषि क्रान्ति गर्नुपर्छ भनेर विप्लव मात्र आए मलाई खुशी लागेको छ ।’
किसान बटालाले देश कृषि प्रधान भनिएपनि समयमा सिचाई, बिउ, मल र बिषादी जस्ता कुराहरू किसानले नपाएको भन्दै कृषि क्रान्तिको बाटो लिने पार्टी र नेतालाई आफूहरुको साथ सहयोग रहने धारणा राख्नु भयो ।
तुलसीपुर सामुदायिक वनका अध्यक्ष एव कृषक गोरख बहादुर सिंहले किसानको हक, हित र व्यवसायको लागि नेपाल कम्युनिस्ट पार्टीले कृषि कर्म गरेकोमा यसप्रति सम्मान र साथ रहने बताउनु भयो ।
कृषक खडक बहादुर बुढाले देशलाई कृषि प्रधान देश भनिएपनि नेपाल अझै कृषि प्रधान देश नभएको टिप्पणी गर्नु भयो ।
उहाँले जनताको दैनिक जीवन आयातित कृषि वस्तुमा परनिर्भर हुँदै गएको उल्लेख गर्दै समस्यालाई राज्यले ठोस नीति बनाएर सम्बोधन गर्न नसकेको गुनासो गर्नु भयो ।
उहाँले सबैले कृषिको कुरा मात्रै गरेपनि नेकपाले कृषिलाई व्यबहारमा नै कार्यान्वयन गरेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले अनुदानको नाममा भ्रष्टाचार र कमिशनको जालोबाट समाजलाई मुक्त गर्नुपर्ने बताउनु भयो ।
दिगो बहुउद्देश्यीय सहकारीका पुष्कलबहादुर बमले अनुदान पाउनु पर्ने किसानले अनुदान नपाएको भन्दै राज्य अभिभावक बन्न नसकेको बताउनु भयो । उहाँले जसले कृषि गर्दैन, जसले पशुपालन गर्दैन उसैले अनुदान पाउने गरेको छ भन्नु भयो ।
शिक्षक एवम् अगुवा किसान मानबहादुर रावलले नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको रतिपुर कृषि उत्पादन केन्द्रको कामबाट किसानहरु कृषि काममा उत्प्रेरित गरेको बताउनु भयो ।
उहाँले अहिले किसानहरु कृषि काममा लाग्न थालेको बताउनु भयो । उहाँले कृषि क्षेत्रको मुख्य समस्या भनेको बजारीकरण नहुनु , कृषि उत्पादनको उचित मूल्य नपाउनु र वास्तविक किसानले राज्यको सहयोग नपाउनु रहेको बताउनु भयो ।
उहाँले रतिपुर क्षेत्रमा निम्न र सिमान्त किसान बसोबास गर्ने किसानको बाहुल्यता भएकोले उनिहरुको अभाव र सीमालाई समेत बिचार गरि कृषि काममा प्रेरित गर्नुपर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा रतिपुर उत्पादन केन्द्रका प्रमुख डबल बहादुर सी (भगतसिंह)ले पछिल्लो दुई बर्षमा स्थानीय जनताको श्रम बापत १३ लाख जति पैसा प्रबाह गरेको र यसले उनीहरुको आर्थिक क्षमता वृद्धि बिकासमा सहयोग पु¥याएको बताउनु भयो ।
किसान महासंघका मानबहादुर चौधरीले बिउ, मल प्रबिधिको अभाव र सहि प्रयोगको कमीको कारण कृषिलाई नाफामा लैजाने चुनौती रहेको बताउनु भयो । अब रासायनिक मल भन्दा पनि जैविक खेतीमा जोड गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै वडा अध्यक्ष हरिचन्द्र शाहले नेपाल कम्युनिस्ट पार्टी र यसका नेताकार्यकर्ताको कृषि उत्पादन सम्बन्धि काम सबैले सिक्नुपर्ने बताउनु भयो । उहाँले रतिपुर उत्पादन केन्द्रले गरेको काम किसानलाई प्रभावित गर्ने खालको रहेको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी, पोलिटब्युरो सदस्य विकल्प सी, केन्द्रीय सदस्य समर सी, कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
डबल बहादुर सी भगतसिंहको अध्यक्षता र सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य भुवनजङ्ग शाहले दिनु भएको थियो ।