२१ औं शताब्दी लुटेराहरुको शताब्दी हुन सक्दैन: विप्लव

२ जेष्ठ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले २१ औं शताब्दी वैज्ञानिक समाजवादको शताब्दी भएको र यो लुटेराहरुको शताब्दी नभएको ठोकुवा गर्नु भएको छ ।

सोमवार काठमाडौमा आयोजित विद्यार्थी दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो ठोकुवा गर्नु भएको हो ।

उहाँले भन्नु भयो “२१ औं शताब्दी भनेको वैज्ञानिक व्यवस्थापनको शताब्दी हो, यो लुटेराहरुको शताब्दी हुन सक्दैन, यो हाम्रो चुनौती छ ।”

उहाँले अहिले युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको उद्घोष गर्नु भयो ।

उहाँले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताउनु भयो ।

महासचिव विप्लवले कलेज र बिश्वबिद्धालयहरु बेरोजगार जम्मा हुने थलो जस्तो भएको भन्दै यो कुनै व्यक्ति र पार्टीका कारण नभई व्यवस्थाको कारणले भएको दाबी गर्नु भयो ।

उहाँले भन्नु भयो “शिक्षालाई यो ब्यवस्थाले बजारको बिषय बनायो, बजारले नाफा घाटा मात्रै हेर्छ जनता र देश हेर्दैन, देशलाई आजको संकटबाट निकास दिन विद्यार्थी आन्दोलनबाट गङ्गालाल र चिनियाँमान काजीको माग भैरहेक छ ।”

विद्यार्थी आन्दोलनको त्याग , बलिदान र उद्देश्य तर्फ स्मरण गर्दै महासचिव विप्लवले अखिलको आन्दोलन भनेको फासिमा लट्किदा समेत जीवन दिने योद्धाहरुको आन्दोलन भएको जिकिर गर्नु भयो ।

अहिलेको संकट दलाल संसदीय व्यवस्था भएको ठोकुवा गर्दै महासचिव विप्लवले भन्नु भयो “हामीले संसदीय व्यवस्था भोगिरहेका छौं, संसदीय व्यवस्था कुनै नयाँ कुरा होइन, यो त २००७ साल, २०४७ साल हुँदै अहिले सम्म पटकपटक भोगिसकेको प्रणाली हो, यसले देशका आजका मुद्दाहरूलाई सम्बोधन गर्ने सामर्थ्य राख्दैन ।”

महासचिव विप्लवले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको पनि वताउनु भयो ।

उहाँले भन्नु भयो “१५ वर्षसम्म हामीले हेर्याैं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो । शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो । बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन।”

महासचिव विप्लवले पछिल्लो भुटानी शरणार्थी प्रकरणका विषयमा वोल्दै देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु अहिले दुई कौडीमा विदेशीको लिलाम भइरहेको पनि वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस