२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनु भयो ।
उहाले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताउनु भयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिनु भयो ।
उहाले ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने बताउनु भयो ।
उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीयस्तरमा बन्ने साधन प्रयोग गर्न पनि उहाले जोड दिनु भयो ।