रुपा माथि भेदभाव गर्नेलाई कानुनी कार्वाही गर्न राष्ट्रिय दलित पत्रकार संघको माग

२ असार, काठमाडौ । दलित समुदायकी सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको भन्दै घरभेटीले कोठा भाडा नदिएकोमा राष्ट्रिय दलित पत्रकार संघले आपत्ती जनाएको छ ।

राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले आज एक वक्तव्य जारी गरि कोठाको भाडा लगाएका विषयमा सवै सहमति भई सकेको र अन्त्यमा दलित भएकाले दिन नसक्ने घरभेटीले वताएको विषयमा आपत्ती जनाउनु भएको हो ।
इमेज टेलिभिजनमा उकाली–ओराली कार्यक्रमकी प्रस्तोता सुनार कोठा खोज्दै काठमाडौं महानगरपालिका –११ बबरमलस्थित सरस्वती प्रधानको घर पुग्नु भएको थियो ।

रुपा र सरस्वतीबीच कोठाको विषयमा राम्रै कुरा भयो । भाडाको टुंगो पनि भयो । राम्रो कोठा पाए भनेर रुपा पनि मख्ख हुनु भयो । कोठामा धेरै मान्छे ल्याउन नपाउने, हल्लाखल्ला गर्न नपाउने शर्त सरस्वती प्रधानको राख्नु भएको थियो ।
त्यति मात्रै होइन, ‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई । एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ । बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन । सबै जना मिलेर बस्नुपर्छ’ भन्ने शर्त पनि मान्नु पर्छ घरभेटीले भन्नु भएको थियो ।

रुपाले पनि आफु काम गर्ने भएकाले त्यसरी मान्छे भेला पार्ने र हल्लाखल्ला गर्ने फुर्सद नहुने वताएपछि घरभेटी सरस्वती पनि खुसी हुदै कोठा दिने सहमतिमा पुग्नु भएको थियो ।

तर सबै कुरा मिलेपछि घरभेटी सरस्वतीले के थरको हो भनेर सोध्नु भएको प्रश्नमा रुपाले सजिलै ‘कामीकी छोरी हुँ’ भनेर जवाफ दिनु भयो । त्यसपछि घरभेटी सरस्वतीले कोठा भाडामा दिन नसक्ने निश्कर्ष निकाल्नु भयो ।

‘काठमाडौं जस्तो ठाउँमा यसरी छुवाछूत भोग्दा सहेर बस्नु राम्रो होइन भनेर कानुनी कारवाहीको प्रक्रियामा जान लागेको रुपाले वताउनु भएको छ । जाती भेदभाव नगर्ने माथि कानुनी कार्वाही गर्न पनि राष्ट्रिय दलित पत्रकार संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस