३१ भाद्र, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमै सचेत बन्न जनसमुदायलाई अपिल गर्नु भएको छ ।
सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लव सीले राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमै सचेत बन्न जनसमुदायहरुमा अपिल गर्नु भएको हो ।
अबको विकल्प नेपाली विशेषताको समाजवाद भएको भन्दै महासचिव विप्लव सीले भन्नु भयो ,‘आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमा नै सचेत बनौं ।’
उहाँले देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्नुपर्ने बताउनु भएको छ ।
महासचिव विप्लवले भन्नु भयो ‘हाम्रो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दरीपूर्वक डटिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।’
उहाँले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताउदैे जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएको बताउनु भएको हो ।
महासचिव विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको बताउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने ठहर छ, हामीले पहिले नै स्पष्ट गरेका थियौँ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ । विभिन्न क्षेत्रबाट यो सुझाव नपुगेको होइन । परन्तु यसलाई जानाजान प्रवेश गराइएन या बेवास्ता गरियो ।’
‘कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ । परन्तु यसमा गैरदलीय, गैरवामपन्थी सोचले काम गरेको देख्न सकिन्छ । यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ । जनताले पनि स्वीकार्ने छैनन्’ विज्ञप्तिमा उल्लेख छ ।
पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव नभएको भन्दै विप्लवले भन्नु भएको छ, ‘बर्षौदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरुलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु होइन संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र हो । हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन पनि हो । पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन ।’
विज्ञप्तिको पूर्णपाठ
