३० असोज,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै नेकपाको केन्द्रीय समितिको बैठक विहिवार सम्पन्न भएको छ ।
असोज २६ गतेबाट कपिलवस्तुको केन्द्रीय कार्यालय शिवगढीमा जारी केन्द्रीय समितिको विशेष बैठकले महासचिव विप्लव सीको प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसहमत पारित गर्दै सम्पन्न भएको हो ।
सम्पूर्ण राष्ट्रवादी कम्युनिष्टहरु एक हौं, दलाल पुँजीवाद मुर्दावाद, साम्राज्यवाद मुर्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद ! जस्ता गगनभेदी नाराहरु बैठकहलमा लगाउदै महासचिव विप्लव सीले बैठक समापन भएको घोषणा गर्नु भएको हो ।
बैठकले आगामी निर्वाचन, पार्टी एकता, कम्युनिस्ट केन्द्र, सरकारप्रतिको धारणा, आगामी कार्यक्रमलगायत विभिन्न महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको नेकपाले जनाएको छ ।
बैठकका महत्वपूर्ण निर्णयहरु आगामी कार्तिक २ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पनि जानकारी दिएको छ । बैठकले मुख्य गरी विप्लवकै नेतृत्वमा कम्युनिष्ट केन्द्र बनाएर जाने निर्णय गरेको बताईएको छ ।
बैठकको समापन गर्दै महासचिव विप्लव सीले देश– जनता र कम्युनिस्टको रक्षा गर्ने दायित्व प्राथमिकता परेको भन्दै देशलाई एकीकृत गर्न सचेत पहल आवश्यक भएको बताउनु भएको छ ।
उहाँले भन्नु भयो ‘हाम्रो संघर्ष राजनीति भन्दामाथि नयाँ मानव सभ्यताको लागि हो, आज देश– जनता र कम्युनिस्टको रक्षा गर्ने दायित्व प्राथमिकता परेको छ, जसको लागि देशलाई एकीकृत गर्न सचेत पहल आवश्यक छ ।’
