३० कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले असल कम्युनिष्ट पार्टीेले मात्र देशको रुपान्तरण गर्न सक्ने भन्दै नेकपा सक्षम रहेको दाबी गर्नु भएको छ ।
देशको रुपान्तरणका लागि आफ्नो पार्टीसंग भएका ७ आधारहरु आईतवार फेसवुक स्टाट्सबाट सार्वजनिक गर्दै महासचिव विप्लवले असल कम्युनिष्ट पार्टीेले मात्र देशको रुपान्तरण गर्न सकिने र त्यसमा नेकपा सक्षम रहेको दाबी गर्नु भएको हो ।
उहाँले देशको रुपान्तरणका लागि पहिलो सर्त असल कम्युनिष्ट पार्टी हुनुपर्ने र त्यो एक मात्र नेकपा रहेको उल्लेख गर्नु भएको छ ।
उहाँले नेकपासंग नेपाली विशेषताको समाजवादको लक्ष्य स्पष्ट भएकाले देश रुपान्तरण गर्न सक्षम रहेको विचार राख्नु भएको छ ।
महासचिव विप्लवले फेसबुक स्टाट्समा लेख्नु भएको छ, ‘ हामीसँग असल कम्युनिस्ट पार्टी छ, नेपाली विशेषताको समाजवादी लक्ष्य स्पष्ट छ, आफ्नै आधारभूत नयाँ आर्थिक मार्ग छ, विज्ञान–प्रविधिमा आधारित दृष्टिकोण छ, देश र जनताको रक्षा र सेवा गर्ने अठोट छ, समाजलाई नयाँ बाटो देखाउने सी संस्कृति छ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको नीति छ ।’
महासचिव विप्लवले यी सात आधारका कारण आफ्नो पार्टी देश र जनताको रुपान्तरण गर्न प्रतिबद्ध रहेको ठोकुवा गर्नु भएको हो ।
उहाँले बेमौसमी दलाल पुँजीवादी दुर्गन्धित हावाहुरीलाई घृणाकासाथ दुत्कार्दै, महान कम्युनिस्ट आदर्शको ध्वजा फहराउँदै अगाडि बढ्न र सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।
