३०,कार्तिक, कालिकोट । विप्लवको नेतृत्वमा कम्युनिष्ट पार्टी नेपाल दर्ताका लागि जिल्ला निर्वाचन आयोगको कार्यालय कालिकोटले ५५ जनाको सनाखत लिएको छ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयले दल दर्ताका लागि कम्तिमा ५०० जनाको सनाखत लिने प्रावधान अनुसार कालिकोटबाट मात्र ५५ जनाको आईतवार सनाखत लिएको हो ।
कम्युनिष्ट पार्टी नेपाल दर्ता प्रक्रियाका लागि देशका विभिन्न जिल्लाबाट पनि जिल्ला निर्वाचन आयोगको कार्यालय मार्फत सनाखत लिने काम पुरा भएको छ ।
विप्लव नेतृत्वको हालको नेकपाले केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा कम्युनिष्ट पार्टी नेपालको नामबाट दल दर्ताको लागि यसअघि नै निवेदन दिएको थियोे । निर्वाचन आयोगले दल दर्ताको आवश्यक प्रक्रिया पुरा गर्नको लागि सनाखत लिएको हो ।
नेकपाले मान्ममा रहेको जिल्ला निर्वाचन आयोगको कार्यालय मार्फत ५५ जनाको उपस्थिति गराई सनाखत गराएको पार्टीका जिल्ला इन्चार्ज विवेक सीले जानकारी दिनु भयो ।
सनाखत गराउने क्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका विवेक सी, केन्द्रीय सदस्य दिनेश सी र केन्द्रीय सदस्य रमेश सी लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
जिल्ला निर्वाचन आयोगको कार्यालय कालिकोटले दल दर्ताको प्रक्रियाका लागि सनाखत लिएको पुष्टि गरेको छ ।
नेकपाले अबको दुई तीन दिन भित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गर्ने दल दर्ताको प्रक्रियामा लागेका नेता चिनजीवी ढकालले जानकारी दिनु भयो । निर्वाचन आयोगले दल दर्ताको लागि आजसम्म तोकिएको समयसीमा पनि आउने मंसिर ५ गतेसम्मको लागि सारेको छ ।