थारू मोर्चा आन्दोलनको तयारीमा

‘अधिकार प्राप्तिका लागि अब निर्णायक आन्दोलन’


४ माघ धनगढी । थरुहट र थारूवान मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारूले राज्यको अधिकार प्राप्तिका लागि थारूहरूले अन्तिम पटक निर्णायक आन्दोलनको तयारी गरिरहेको बताउनु भएको छ ।
धनगढी उपमहानगरपालिका–१६ फूलबारीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाले धनगढीमा फागुन १५ र १६ गते ५० हजार थरुहट युवा, महिला र विद्यार्थी एउटै पोसाकमा सहभागी भएको विशेष राष्ट्रिय सम्मेलनबाट आन्दोलनको घोषणा हुने बताउनु भयो ।
‘यो निर्णायक आन्दोलनले थारूहरूका अधिकारलाई स्थापित गराएरै छाड्नेछ,’ उहाले भन्नु भयो , ‘थारूहरूको निर्णायक आन्दोलनले मान्छे मार्ने छैन, हतियार उठाउने छैन, पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ ।’ धनगढी–१९ मा बसेको थरुहटरथारूवान मोर्चाको केन्द्रीय समिति बैठकले निर्णायक आन्दोलनको निर्णय गरेको उहाले बताउनु भयो ।
उक्त आन्दोलनमा मगरात, खस क्षत्री, दलित, मधेसीलगायत सबै उत्पीडनमा परेका वर्ग र समुदायको समेत सहभागिता हुने उहाको भनाइ छ । थारूको मुद्दा र अधिकारको कुरा सत्ता पक्षले नसुनेको मात्रै नभएर थारूहरूलाई दासत्व स्विकार्न लगाएकाले मुक्तिको विद्रोहमा जानुको विकल्प नभएको उहाले बताउनु भयो । थारूहरूको अधिकारवादी राजनीतिक आन्दोलनलाई समेत उच्च अदालत दिपायलले आतंककारी र संविधान विरोधीको व्याख्या गरेर फैसला सुनाएको उहाको आरोप छ । ‘उच्च अदालतको ११९ पेज लामो फैसलाका प्रत्येक पानामा थारूहरूको शान्तिपूर्ण आन्दोलन (कोण सभा, प्लेकार्ड बोकेको, थाली बजाएको) लाई समेत आतंककारीका रूपमा व्याख्या गरेको छ,’ उहाले भन्नु भयो ।
नेता थारूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछिको समयमा अनौपचारिक रूपमा वार्ताका लागि बोलाएको खुलासा गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस