फागुन ५, कालिकोट । कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले ठक्कर दिने गाडी नै जलाइदिएका छन् । भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार बिहान १० बजेतिर रास्कोट नगरपालिका–६, सान्तिघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् ।
घटनास्थलमै बालकको मृत्यु भएपछि स्थानीले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहाले जानकारी दिनु भयो । डीएसपी शाहाका अनुसार घटनास्थलमा सुरक्षाकर्मी पुग्न ढिलाइ हुँदा आक्रोशित स्थानीयले गाडीमा नै आगजनी गरेका थिए ।
‘घटनाबारे समयमै जानकारी भएन, अलि ढिला थाहा पायौं हामीले । हाम्रो प्रहरी टोली घटनास्थल पुग्दा गाडी जलिसके रहेछ,’ डीएसपी शाहाले भन्नु भयो ।
घटनापछि स्थानीयले गाडीलाई धकेल्दै ५० मिटर टाढा पुलमा पु¥याएर आगजानी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै गाडी चालक उमाकान्त पाठक प्रहरी चौकी पुग्नु भएको थियो । चालक पाठक प्रहरीको नियन्त्रणमा हुनुहुन्छ ।
स्थानीयले प्रहरी चौकीमा समेत आक्रमण गर्न थालेपछि जिल्लाबाट थप प्रहरी घटनास्थल खटाइएको डीएसपी शाहाले बताउनु भयो ।