३ जेठ, कालिकोट । ज्वाला खवरको समाचार प्रभावले १८ बर्षसम्म वावु चिन्न नपाएकी सलमी खड्काले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन ।
सलमीले जिल्ला प्रशासन कार्यालय कालिकोटबाट शुक्रवार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन ।
नेपाली नागरिकता प्रमाणपत्र पाएपछि सलमी खड्का निकै खुसी भएकी छन । संचारकर्मी, दलित अधिकारकर्मी लगायतको रोहवरमा बुवा पदम खड्का (सुवास)ले नागरिकताका लागि सनाखद गरेपछि सलमीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन । नागरिकतामा साहयक प्रमुख जिल्ला अधिकारी जनक शर्माले हस्ताक्षर गर्नु भएको छ ।
अन्तरजातीय विवाहका कारण रास्कोट नगरपालिका वडा नम्वर २ घर भएका माओवादी केन्द्रका रास्कोट अध्यक्ष पदम खड्का (सुवास)ले १८ बर्षसम्म छोरी सलमीलाई पालन पोषण र रेखदेख नगरी नागरिकता समेत नदिएको समाचार ज्वाला खवरमा केही दिन अघि प्रकाशित भएको थियो ।
यो समाचार प्रकाशित भएपछि विभिन्न ठाउँबाट आएको चर्को दबावका कारण माओवादी केन्द्रका नेता सुवासले आमा मिना कुमारी नेपाली (रम्तेल) बाट जन्मीएकी छोरी सलमीको अन्ततः नेपाली नागरिकता बनाउन सहमत भएका हुन ।
माओवादी नेता सुवास र मिना कुमारी नेपाली (रम्तेल) बिच जनयुद्धको समयमा जनमुक्ति सेनामा हुदा २०६२ साल भदौ १२ गते जाजरकोटमा जनवादी विवाह भएको थियो ।
शान्ति प्रक्रिया पछि दलित भएकै कारण माओवादी नेता सुवासले श्रीमती मिना कुमारी नेपाली (रम्तेल) माथि चरम अन्याय गर्दै सम्वन्ध विछोड गर्नु भएको थियो ।
सुर्खेत जिल्ला अदालतले समेत छोरी सलमीलाई पालन पोषण खर्च वापत तत्काल २ लाख ५० हजार दिने आदेश दिदा पनि नेता सुवासले अटेरी गर्दै आफैले जन्माएको छोरीप्रति अपहेलना गरिरहनु भएको थियो ।
२०६४ साल कार्तिक ६ गते जन्मीएकी सलमीले ठुलो संघर्षपछि नेपाली नारिकता बुवा पदम खड्का (सुवास)को नामबाट प्राप्त गरेकी छन ।
सलमीले अन्तरजातीय विहेकै कारण आफूले एउटा छोरीले पाउनुपर्ने पालनपोषण, शिक्षादिक्षा र रेखदेखबाट बञ्चित हुनु परेको गुनासो गर्दै आएकी थिईन ।
सलमीले १८ बर्षसम्म बाबा नै चिन्न नसकेको र नेपाली नागरिकता पनि पाउन नसकेको ज्वाला खवरलाई बताएकी थिईन । जसलाई ज्वाला खवरले समाचार बनाएर प्रकाशित गरेको थियो । सलमीले नागरिकता प्राप्त गरेपछि वुवाबाट पाउनु पर्ने सम्पूर्ण अंशपनि पाउनु पर्ने दाबी गरेकी छन ।
तर माओवादीका उच्चतहका नेताहरुले नै सलमी र उनको आमा मिना कुमारी नेपाली (रम्तेल) लाई अंशको दाबी नगर्न दवाव दिईरहेको सुचना प्राप्त भएको छ ।
वुवा सुवासले सहमतिबाट अंश नदिए कानुनी प्रक्रियावाट भएपनि अंश लिने छोरी सलमीले बताएकी छन ।