३ जेठ, बाँके । नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले नेपालमा समाजवाद विना थारु समुदायको मुक्ति सम्भव नहुने बताउनु भएको छ ।
समाजवादी थारु मुक्ति मोर्चा बाँकेले शनिवार कोहलपुरमा आयोजना गरेको ‘बर्तमान परिस्थितिमा थारु समुदायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा बाँके जिल्ला इन्चार्ज रक्तिम सीेले नेपालमा समाजवाद विना थारु समुदायको मुक्ति सम्भव नहुने बताउनु भएको हो ।
उहाँले तराईको जमिनको मालिक थारु समुदाय भएपनि राज्यसत्ताले थारुमाथि अत्याचार गरेको टिप्पणी गर्नु भयो ।
नेकपा पोलिट व्यूरो सदस्य समेत रहनु भएका नेता रक्तिमले सामन्ती तथा दलालहरुले थारु समुदायले खनजोत गरेको जमिन आफ्नो नाममा कव्जा गरेका कारण आज धेरैजसो थारु समुदायहरु कमैया र भूमिहिन बन्नु परेको धारणा राख्नु भयो ।
उहाँले उत्पीडनमा परेका सम्पूर्ण थारु समुदायहरुलाई एकीकृत जनक्रान्तिको मार्गमा सहभागी भएर नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा लाग्न अपिल गर्नु भयो ।
कार्यक्रममा समाजवादी थारु मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष नाथुराम थारु (नविन)ले राज्यसत्ताको विभेदकारी नीतिका कारण थारु समुदायहरु उत्पीडनमा परेको बताउनु भयो ।
उहाँले राज्यसत्ताले नै नेपालका सबै जातिका युवादेखि थारु समुदायका युवाहरुलाई विदेश लखेटिरहेको भन्दै कडा विरोध गर्नु भयो ।
‘आज सबै विदेश भन्छन, डाक्टर इन्जिनियरहरु पनि विदेश भन्छन, सबै जातिका युवा युवतीहरु पनि विदेश भन्छन’ अध्यक्ष नाथुरामले भन्नु भयो, ‘समाजमा निरासा फैलाईएको छ, यो सबै सत्तामा हुने दलालहरुका कारण हो । यो दलाल सत्ताले सबैलाई परनिर्भर बनायो । यसलाई हटाएर समाजवादी राज्य व्यवस्था ल्याउनु पर्छ । अनिमात्र थारु समुदायको मुक्ति हुन्छ ।’
उहाँले श्रम गर्ने र देशमा पसिना बनाउने समुदायमा थारु समुदाय अग्रस्थानमा पर्ने दाबी गर्नु भयो ।
अध्यक्ष नाथुरामले सबै थारु समुदायहरुलाई आफ्नो मुक्तिको लागि एकपटक समाजवादी थारु मुक्ति मोर्चाको झण्डामा गोलबन्द हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कल्पना सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विक लगायतका अतिथिहरुको सहभागिता रहको थियो ।
समाजवादी थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा बाँके जिल्लाका संयोजक कलावती चौधरी (वैद्य)को अध्यक्ष र संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।