१ असोज, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ ।
खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको यो पहिलोपटक हो । बन्दीपुरको एक होटलमा आयोजित बैठक असोज ५ गते सम्म चल्ने छ ।
नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकारबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएपछि नेकपा खुल्ला राजनीतिमा आएको हो ।
तीन वुदे सहमतिमा प्रतिवन्ध हटाउने,गिरफ्तार नेता कार्यकर्ता रिहा गर्ने र झुट्मुद्धा खारेज गर्ने,राजनीतिक समस्या वार्ता मार्फत समाधन गर्ने सहमति भएपनि प्रतिबन्ध फुकुवा वाहेक अरु सहमति सरकारले कार्यान्वयन गरेको छैन ।
खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा,रणनीति लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
बैठकमा केन्द्रीय समितिका सवै सदस्यहरु सहभागी भएका छन । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार नै बन्दीपुर पुग्नु भएको थियो ।
होटलमा नेताहरुको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवाहरुलाई खटाइएको छ ।
बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको नेकपाले जनाएको छ । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ ।