बालयौन दुव्र्यवहारका आरोपित शाही भूमि आयोग जुम्लाको अध्यक्ष

५ माघ, जुम्ला । सरकारले हालै भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको हो । भूमि आयोग जुम्लाको अध्यक्षमा बालयौन दुव्र्यवहारको आरोपित एमाले नेता सुरतबहादुर शाहीलाई बनाइएको छ ।

शाहीमाथि आफ्नै छोरी नाता पर्ने नाबालिकलाई करणी प्रयासको आरोपमा जिल्ला अदालत जुम्लामा मुद्दा चलिरहेको छ । तर केपी शर्मा ओली नेतृत्वको सरकारले बालयौन दुव्र्यवहार गरेको आरोप लागेका शाहीलाई भूमि आयोग जुम्लाको अध्यक्ष बनाएर आरोपित संरक्षण गर्दै कुशासनको नमूना प्रदर्शन गरेको भन्दै सर्वत्र विरोध भएको छ ।

शाहीले २०८० असोज १८ गते बालिकालाई सामाजिक सञ्जाल म्यासेन्जर र टेलिफोनमार्फत यौन सम्पर्कका लागि पटक–पटक प्रस्ताव राख्ने, नाङ्गो तस्बिरहरु खिचेर पठाउन दवाब दिने गरेको खुलासा भएको थियो ।

बाल यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व जाहेरी दर्ता भएलगतै शाही फरार हुनु भएको थियो ।

उहाँमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै गत असोज २४ गते जाहेरी परेको थियो । शाही जुम्ला आएर लुकीछिपी बसेको भन्ने हल्ला एक हप्ता अगावै बजारमा थियो ।

शाहीलाई गत आसोज २४ गते जाहेरी परेपछि जिल्ला अदालतबाट प्रकाउ पूर्जी जारी भएको थियो । उहाँ २०८१ बैशाख १२ गते प्रहरीमा आफै हाजिर हुन जाँदा ५ दिन प्रहरी हिरासतमा समेत बस्नु भएको थियो ।

उहाको मुद्दाको अदालतमा बकपत्र समेत भएको छैन । पीडित बालिकाका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिनु भएको छ ।

प्रहरीले अनुसन्धानका लागि बैंक खाता समेत रोक्का गरेको छ । तर बालयौन दुव्र्यवहारजस्तो मुद्दाका आरोपितलाई भूमि आयोगको अध्यक्ष बनाई पीडितको मनोबल कमजोर बनाउने काम सरकारले गरेको स्थानीयको भनाई छ ।

नेपालको संघीय संसदमा दोस्रो ठूलो दल नेकपा (एमाले)ले गाउँघरमा छोरीबहिनीलाई यौन हिंसा गर्ने कार्यकर्तालाई बढुवा गरेर आफ्नो कम्युनिष्ट आदर्शबाट स्खलित भएको प्रमाणित गरेको विश्लेषकहको भनाई छ ।

आरोपित शाहीलाई एमाले जिल्ला कमिटिले प्रदेश समिति सदस्य मनोनयनको लागि सिफारिस गरेको चिठी पनि सार्वजनिक भएको थियो । एमाले पार्टी र केपी वली नेतृत्वको सरकारबाट पुरस्कृत भएका शाहीका सम्पूर्ण बैंक खाता रोक्का भएको अवस्थामा आयोगको अध्यक्ष बनाउनु राम्रो काम नभएको एमाले भित्रैका नेताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस