६ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले फूकोट हाईड्रोसंग भएको सम्झौता सरकारले लागु नगरे जग्गा नदिन जनतालाई अपिल गर्नु भएको छ ।
नेकपा (माओवादी)को चुनावी भेटघाटका क्रममा बुधवार रेगिलवासी जनतासंग बोल्दै प्रवक्ता तथा उम्मेदवार प्रकाण्ड सीले यदि सरकारले जनतासंग गरेको सहमति लागु नगरे रेगिलवासी जनतालाई जग्गा नदिन अपिल गर्नु भएको हो ।
उहाँले भन्नु भयो, ‘जनतासंग सहमति गर्ने, लागु नगर्ने कार्य दलालहरुको सरकार भएर हो, जनताको सरकार नहुदा यस्तै समस्याहरु आउने गर्छन, तपाईहरुको दुवै हातमा लड्डु छ, यदि सहमति सरकारले कार्यान्वयन गरेन भने जग्गा नदिनु होला, सहमति कार्यान्वयन गरेपछि जग्गा दिनु होला ।’
उहाँले आगामी फागुन २१ गतेको चुनावबाट आफ्ना दलालहरु खडा गर्न अमेरिकाले षड्यन्त्र गरिरहेको भन्दै पैसाले बिग्री हुने दलाल नेताहरुलाई भोट नदिन आग्रह गर्नु भयो ।
रेगीलवासी जनतालाई मुख्यमन्त्री हुदा महेन्द्र शाहीले झुक्याएर वस्ती अर्को ठाउँ बनाई दिने, प्रत्येक घरमा एक एक रोजगार दिने,मुआव्जा दिने,लगायतका सम्झौता गरेपछि आफ्नो नाममा भएको जग्गा सरकारको नाममा गरेका थिए । तर जनताले अहिले सम्झौता अनुसार काम नगरेर पुलिस लगाएर बस्ती उठाउन खोजेको भन्दै रेगिलवासी जनताले प्रकाण्ड समक्ष गुनासो गरेका थिए ।
जनताको पार्टी र जनताको नेता नहुदा जनताले यस्तै दुख पाउने अवस्था आउने भन्दै प्रकाण्डले यो चुनाव नेपाली जनताको चुनाव बनाएर आफूलाई जिताए समस्या समाधान गरिने बताउनु भयो ।
नेता प्रकाण्डले २०६४ सालमा भारी मतले संविधान बनाउन कालिकोटे जनताले आफूलाई जिताएपनि जनताको संविधान बनाउन धेरै मिहिनेत गरेको र अन्ततः भारतले आफ्नो ड्राफ्ट गरेको मस्यौदा दिएपछि च्यातेर संघर्षमा उत्रिएको खुलासा गर्नु भयो ।
उहाँले विदेशीहरुले ड्राफ्ट गरेको संविधानले नेपाली जनताको समस्या समाधान नहुने जिकिर गर्नु भयो ।
नेता प्रकाण्डले भन्नु भयो ‘जेनजी आन्दोलनपछि नयाँ राज्य बनाउनु पर्छ, नयाँ संविधान बनाउनु पर्छ, संविधानको पूर्नलेखन गर्नुपर्छ,त्यसका लागि जनताको प्रतिनिधित्व गर्ने नेता जिताउनु पर्छ, अहिले हामी आएका छौ, दुई चार करोडले बिग्री हुने र विदेशीको चाहानामा काम गर्ने नेता नपठाउनु होला ।’
उहाँले यदि सहि नेता नपठाए नेपालका जनताहरुले अमेरिकी स्वार्थ पुरा गर्न २४ सै घण्टा काम गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत गराउनु भयो ।
‘जनताको काम गर्न जनताको पाटी, जनताको नेता चाहिन्छ, अनिमात्र जनताको भनेको जस्तो हुन्छ’ नेता प्रकाण्डले भन्नु भयो ।
उहाँले आफ्नो जिम्मेवारी कालिकोट मात्र नभएर सिंगो कर्णाली र सिंगो देशको भएको बताउनु भयो । १० बर्षको जनयुद्धमा कालिकोटे जनताले जितेको स्मरण गर्दै नेता प्रकाण्डले यतिवेलाको चुनावमा पनि जित्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले आगामी चुनावको निर्णयबाट देश, जनता र विकासका लागि सहित नेता छान्न जनतालाई अपिल गर्नु भयो ।
अरु उम्मेदवारले अहिलको स्वाधीनताको लडाईलाई पुरा गर्न नसक्ने भन्दै नेता प्रकाण्डले एमसीसी र राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध लड्ने उम्मेदवार आफू भएको दाबी गर्नु भयो ।
स्मरणरहोसः राष्ट्रघाती एमसीसी ंसंसदवाट पास हुदै गर्दा कालिकोटका सांसद महेन्द्र शाहीले त्यसैमा ल्याप्चे लगाउनु भएको थियो भने नेता प्रकाण्डको वानेश्वमा एमसीसी विरुद्ध आन्दोलन गर्दा पुलिसको लाठ्ठीले टाउको फुटेको थियो ।