५ चैत्र, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका ५ वागमारामा रहेको रोल्पा नमूना क्याम्पसको स्ववियु निर्वाचनमा विप्लव निकट नेकपाको अखिल (समाजवादी)को प्यानलै विजयी भएको छ ।
नेकपा माओवादी, नेपाली कांग्रेस र एमाले निकटका तीन ठुला विद्यार्थी संगठनहरुको साझा प्यानललाई पराजय गर्दै अखिल (समाजवादी)को प्यानलै विजयी भएको हो ।
अखिल समाजवादीका नेता चुडामणी केसीको प्यानल ठुला भनिने विद्यार्थी संगठनलाई चुनौती दिदै विजयी भएको अखिल (समाजवादी)ले जनाएको छ ।
केसीले ७१ मत प्राप्त गरेर स्ववियु सभापतिमा निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्दी कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र निकट संगठनका साझा उम्मेद्वार दिपेन्द्र डाँगीले ४२ मत मात्र पाउनु भएको छ ।
डाँगीलाई २९ मत्तान्तरले पराजित गर्दै केसी विजयी हुनु भएको निर्वाचन मण्डलका संयोजक गोपालबहादुर केसीले बताउनु भयो ।
कोषाध्यक्ष पदमा अखिल (समाजवादी) का टोपबहादुर परियार निर्वाचित हुनु भएको छ । परियारले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्दी निर्मला डाँगीले ४५ मत पाउनु भएको छ ।
यस्तै सचिव पदमा पनि अखिल (समाजवादी)का देवेन्द्र डाँगीले ६७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दी प्रकाश रोका मगरले ४१ मत पाउनु भएको छ ।
अखिल (समाजवादी)का तर्फबाट सदस्य देवी रिजालले ७१ मत प्राप्त गरी विजयी हुनु भएको छ भने प्रतिद्वन्दी कमला पुन मगरले ४४ मत पाउनु भएको छ ।
अखिल (समाजवादी)बाट अर्को सदस्य पदमा सीमाना बुढाले ७२ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्दी अञ्जना बुढा मगरले ४४ मत पाउनु भएको छ ।
जम्मा १ सय २८ मतदाता रहेको क्याम्पसमा १ सय १७ मत खसेको थियो । मतदानमा ११ जना अनुपस्थित रहेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार पृथी केसी र टिकाजङ घर्ती मगरले शून्य मत पाउनु भएको छ ।
यो निर्वाचनले ठुला भनिने दलका विद्यार्थी संगठनलाई ठुलो धक्का पुगेको छ । तीन तीन ठुला संगठन एक ठाउँ उभिदा पनि विप्लवको विद्यार्थी संगठनले प्यानलै विजयी गर्दा ठुला संगठन भित्र भूकम्प नै गएको छ ।