दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएकी युवती । तस्बिर : स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

वैशाख ६, काठमाडौं । नेपाली दोस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर घर फर्किएकी छन्।  कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पताल, टेकुमा २७ दिनसम्म उपचार गराएर ति युवती शनिबार डिस्चार्ज भएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिनु भयाे ।

अस्पतालबाट डिस्चार्ज हुनुअघि युवतीले तस्बिरसमेत खिचाएकी  छन्। उनकै अनुमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिले तस्बिर सार्वजनिक गरेका हुन्। यसअघि मन्त्रालयले बिरामीको व्यक्तिगत विवरण र तस्बिर सार्वजनिक नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको थियो।

डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किने उनी दोस्रो व्यक्ति हुन्। यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकको डिस्चार्ज भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ।

शनिबार डिस्चार्ज भएकी युवती स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन्। उनमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। उनी पूर्ण निको भएर डिस्चार्ज भएकी हुन्। उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन्।

उनीसँगै कतार एयरवेजको क्यूआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुईजना कोरोना संक्रमण देखिएको थियो। उनीहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

कोरोना संक्रमितमध्ये १२ जनाको विराटनगरस्थित कोरोना अस्पताल, पाँच जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुँदैछ।

अन्य सात जनामध्ये एकको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु र ६ जनाको पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङ र भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला, चितवनमा दुईदुई जनाको उपचार हुँदैछ।

प्रतिक्रिया दिनुहोस