४ जेठ, बाँके । अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेले आगामी असार पहिलो सातासम्म महिलाहरुको जिल्ला भेला गर्ने निर्णय गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेको आईतवार कोहलपुरमा सम्पन्न विस्तारित बैठकले बाँकेको भेला आगामी असार पहिलो साता गर्ने निर्णय गरेको हो ।
बैठकले जेठको १६ गतेसम्म नगरस्तरिय अनेमसंघ क्रान्तिकारीको भेला आयोजक कमिटीहरु बनाउने र जेठको अन्तीमसम्म नगरभेला सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
अनेमसंघ क्रान्तिकारीले जेठको अन्तीम साता बाँकेको कोहलपुरमा वृहत महिलाहरुको अन्तरक्रिया कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।
अनेमसंघ क्रान्तिकारीले महिलाहरुको संगठन सृदृढ र विस्तार गर्ने, महिला संगठनमा बचत कोष बनाउने, प्रत्येक महिनाको अन्तीम शनिवार बैठक वस्ने, उत्पादनका कार्यका लागि हार्भिक सम्वन्धी तालिम आयोजना गर्ने, महिला हिंसा सम्वन्धी संघर्षका कार्यक्रमहरु संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।
बैठकका प्रमुख अतिथि नेकपा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले सम्वोधन गर्दै नेकपा महिलाहरुको माईती पार्टी भएको भन्दै सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको मुक्ति नेकपाबाट मात्र सम्भव भएको बताउनु भयो । उहाँले महिलाहरुको मुक्ति समाजवादबाट मात्र प्राप्त हुने भन्दै समाजवादी अभियानमा सबैलाई संगठित हुन आग्रह गर्नु भयो ।
बैठकमा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय महासचिव तथा विशेष अतिथि राजकुमारी सीले उत्पीडनको क्षेत्रमा सबै भन्दा वढी महिलाहरु परेको बताउनु भयो ।
उहाँले आफ्नो उत्पीडनका विरुद्ध सशक्त भएर संगठित हुन र संघर्ष गर्न महिलाहरुलाई अपिल गर्नु भयो ।
महासचिव राजकुमारीले संगठन नै सबै भन्दा शक्तिशाली चिज भएको भन्दै संगठन विस्तार गर्न र बनाएका योजनाहरु कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य कल्पना सी, जनपत्रकार ंसंगठनका केन्द्रीय सचिव वसन्त विकको पनि आतिथ्यता रहेको थियो । बैठक अनेमसंघ क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष महिमा सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।