कोरोना परीक्षण गर्न ४२ हजारले भरे अनलाइन फारम

नेपालमा कोरोना भाइरस संक्रमण भए–नभएको थाहा पाउन ४२ हजारले अनलाइन फारम भरेका छन् ।

सरकारको आधिकारिक वेबसाइट कोभिडनाइन्टिन एमओएच गोभ एनपी र हाम्रो स्वास्थ्य एपमार्फत ४२ हजार एक सय ६७ ले फारम भरेका हुन् ।

गत २४ घन्टामा मात्रै तीन हजार ९९ जनाले फारम भरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये २३ जना सम्भावित संक्रमित रहेका छन् ।

योसँगै अनलाइनमार्फत फारम भरेकामा रेड जोन अर्थात् संक्रमणको सम्भावना रहेका मानिसको संख्या चार सय पाँच पुगेको मन्त्रालयले जनाएको छ ।

अनलाइन फारम चैत मसान्तसम्ममा १५ हजार ७० जनाले भरेका थिए । तीमध्ये दुई सय ६ जना रेड जोनमा परेका थिए ।

वैशाख मसान्तसम्ममा अनलाइन फारम भर्नेको संख्या ३५ हजार सात सय २३ पुगेको थियो भने  तीन सय ५४ जना रेड जोनमा परेका थिए ।

५ जेठमा आइपुग्दा करिब एक हप्ताभन्दा कम समयमा झन्डै सात हजारले अनलाइन फारम भरेका छन् ।

अनलाइन फारममा विभिन्न प्रश्नहरू सोधेर उत्तरको आधारमा संक्रमणको सम्भावनाका आधारमा व्यक्तिहरूलाई छुट्याइन्छ ।

यदि कुनै व्यक्ति विदेशबाट आएको, संक्रमितलाई भेटेको वा संक्रमितको सम्पर्कमा आएको एवं लक्षणहरू देखिएको छ भने ती व्यक्तिलाई रेड जोनमा राखिन्छ ।

प्रतिक्रिया दिनुहोस