४ असार,जाजरकोट । प्रहरीले जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका गोठालाहरूको सकुशल उद्धार गरेको छ ।
हावाहुरीका कारण ४ दिनदेखि कुशे हिमालको जलजला पाटनमा हराइरहेका कुशे गाउँपालिका ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो ।
बेपत्ताको खोजी गर्नको लागि प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर जलजला पाटन पुगेको थियो । शुक्रबार बिहान मौसम खुलेपछि प्रहरी टोली जलजला पाटनमा पुगेर बेपत्तालाई फेला पारेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताउनु भयो ।
गोठालाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको डीएसपी थापाले बताउनु भयो । चिसो र ४ दिनदेखि भोकै रहेका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएकाले प्राथमिक उपचार सुरु गरिएको उहाले बताउनु भयो ।
भेडा, बाख्रा, गाईभैंसी पाटन छाड्न गएका उनीहरु ठूलो हावाहुरी पानीका कारण सम्पर्कविहीन भएका थिए ।
कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए ।
हावाहुरीका कारण पाटनमा दर्जनौं पशुचौपाया मरेको डीएसपी थापाले जानकारी दिनु भयो ।