असोज २ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएका नेता वीरजङ्गलाई कोरोना भाइरस पुष्टि भएपछि उहाँलाई सुनसरीकै कोभिड हस्पिटलमा भर्ना गरिएको नेकपाले जनाएको छ ।
यसअघि सङ्खुवासभामा राखिएका नेता वीरजङ्गलाई अदालतले रिहाको आदेश गरे लगत्तै पुनः गिरफ्तार गरी सरकारले सुनसरी लगेको थियो ।
गत असोज ३० गते दाङबाट गिरफ्तार गरिएका नेता वीरजङ्गलाई जिल्ला अदालत दाङ देउखुरीले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी काभ्रे पुर्याएको थियो । त्यस्तै काभ्रेबाट रिहा हुनेबित्तिकै उहाँलाई पुनः तेस्रोपटक गिरफ्तार गरी भोजपुर लगिएको थियो ।
नेता वीजङ्गलाई त्यसपछि भोजपुरबाट रिहा हुने बित्तिकै चौथो पटक गिरफ्तार गरी संखुवासभा लगिएको थियो । संखुवासभाबाट पनि पाँचौँ पटक गिरफ्तार गरेर उहाँलाई सुनसरी लगिएको छ । सुनसरीमा प्रहरी हिरासतमा रहेकै बेला नेता वीरजङ्गलाई कोरोना सङ्क्रमण भएको भन्दै उहाँको परिवारले जीवनरक्षाको माग गरेको छ ।
यस्तै प्रहरी नियन्त्रणमै रहेका नेकपाका अर्का नेता चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई पनि कोरोना सङ्क्रमण भएको छ । उहाँलाई धनुषा प्रहरी हिरासतमा रहेको बेला कोरोना सङ्क्रमण भएको भन्दै परिवारजनले जीवनरक्षाको माग गरेका छन् ।