गल्ती कमजोरीको गम्भीर समीक्षा गरौं, समय नलम्ब्याऔं ः माधव नेपाल


३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ढिलाढाली गरेर बैठकको समय लम्ब्याउने काम गर्न नहुने बताउनु भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकका लागि १० दिन समय मागेपछि उहाँले समय खेर फाल्नेतिर मात्रै लाग्न नहुने बताउनु भएको हो ।
बुधबारको सचिवालय बैठकमा नेता नेपालले कार्यकर्ता र जनतामा ब्यापक निराशा बढेर गएकाले तत्काल तीनै तहको सरकारको गम्भीर समीक्षा हुनुपर्ने बताउनु भयो । ‘केन्द्र सरकारका मन्त्रीहरु, प्रदेश सरकार र स्थानीय सरकारको गम्भीर समीक्षा गर्न ढिलाइ भइसकेको छ, हामी समय खेर फाल्नेतिर मात्रै नलागौं’, नेता नेपालको भनाइ उधृत गर्दै बैठक स्रोतले भन्यो ।
तीनै तहको सरकार पार्टी र जनताप्रति उत्तरदायी हुनुपर्ने नेता नेपालको भनाइ छ । ‘सरकार पार्टीसँग जवाफदेही र उत्तरदायी हुनुपर्छ, जनताको भावनालाई सम्मान गर्न सक्नुपर्छ’, नेपालले भन्नु भयो ।
आफ्ना गल्ती, कमजोरी सबैले स्वीकार्नुपर्ने भन्दै उहाँले बैठकमा भन्नु भयो , ‘जहाँ गल्ती कमजोरी भएको छ, उसले गल्ती स्वीकार्न तयार हुनुपर्छ र सच्याएर अगाडि बढ्नुपर्छ ।’
तर, समस्या समाधानमा उदासीन हुने र समय लम्ब्याउने खेलले नेकपालाई बलियो नबनाउने उहाँले बताउनु भयो ।
शुक्रबारको बैठकमा पेश भएका विभिन्न दस्तावेजमाथि भने बुधबारको सचिवालय बैठकमा छलफल भएन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रतिवेदनको जवाफी पत्र लेख्ने समय मागेपछि बैठकमा शुक्रबार पेश भएको दस्तावेजमाथि छलफल नभएर सचिवालय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
यसपछि १० दिन सचिवालय बैठक स्थगित गरिएको छ भने मंसिर १८ मा स्थायी कमिटी बैठक र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गर्दै बैठक सकिएको छ ।

प्रतिक्रिया दिनुहोस