रावल पक्षले समानान्तर रुपमा छान्यो महाधिवेशन प्रतिनिधि


२ मंसिर, धनगढी । कैलालीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्ष र १० बुँदे सहमतिसँगै एमालेमा बसेको भीम रावल पक्षबीच चर्किएको विवादकै कारण समानान्तर रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको छ ।

सुदूरपश्चिममा १० बुँदे सहमतिअनुसार २ जेठ २०७५ को कमिटीहरु कायम नगरिएको भन्दै रावल पक्ष असन्तुष्ट छ । तर संस्थापन पक्ष त्यसलाई सुन्न तयार छैन । त्यही विवादको निरन्तरतामा कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा दुबै पक्षले आआफ्नो अनुकुल महाधिवेशन प्रतिनिधि छनोट गरेका हुन् । यो उपाध्यक्ष भीम रावल निकट सांसद झपटबहादुर रावलको निर्वाचन क्षेत्र हो भने एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापाको गृहक्षेत्र ।

संस्थापन पक्षले त्यहाँ सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको घोषणा गरेको छ, जसमा प्रदेशसभा सदस्य समेत रहनु भएका रत्नबहादुर थापासँगै डेजी पाण्डे, दलबहादुर बिष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपूरा साउँद, गजेन्द्र स्वाँर र धर्मबहादुर थापामगर छन् ।

संस्थापन पक्षले पार्टी सत्ताको दुरुपयोग गरेर प्रतिनिधि चयन गरेको आारोप लगाउँदै रावल पक्षले बुधबार छुट्टै भेला गरेको छ । नेता झपट रावलले निर्वाचनमा पराजित हुने डरले कोठामा बसेर सर्वसम्मतका नाममा एकलौटी प्रतिनिधिको नाम सार्वजनिक गरिएको रावलले बताउनु भयो ।

‘कार्यकर्ताहरुबाट परास्त हुने डरले पार्टीको लेटर प्याडको पनि दुरुपयोग गरेर घोर अलोकतान्त्रिक शैलीमा कोठे बैठकबाट छनोट गरिएका प्रतिनिधि स्वीकार्य छैनन्,’ रावलले भन्नु भयो ।

रावल पक्षको यो भेलाले पनि सर्वसम्मत रुपमा अधिवेशन प्रतिनिधि चयन गरेको छ, जसमा यज्ञराज ढुंगाना, मनोज खड्का सूर्यबहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, बसुन्धरा भण्डारी र ममता रावल छन् ।
संस्थापन पक्षका नेता एवं सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले भने रावल पक्षले पठाउने महाधिवेशन प्रतिनिधिले वैधता नपाउने बताउनु भएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले संस्थापन पक्षले छनोट गरेको महाधिवेशन प्रतिनिधि अवैध भएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस