बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

६ माघ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार एकजनाको होम आइसोलेसनमा र एकजनाको भेरी अस्पतालमा मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।
७० वर्षीय पुरुषमा २६ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए । अक्सिजन लेभल कम भएपछि उनलाई २७ पुसमा भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई पुनः होम आइसोलेसनमा बस्ने गरी २९ पुसमा डिस्चार्ज गरिएको थियो । मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका उनको सोमबार राति ९ः३० बजे आफ्नै निवासमा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको हो ।
धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना परीक्षण गर्दा २८ पुसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण उनी होम आइसोलेसनमा बस्दै आएका थिए । तर सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा बिहान ६ बजे भर्ना गरिएको थियो । रोगको प्रकृति अनुसार उपचार सुरु गरिए पनि उनको बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस