फागुन ७, धनुषा । पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताउनु भएको छ ।
’बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनु पर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गरेको उहाँले वताउनु भयो । पूर्वराष्ट्रपति डा.यादवले भन्नु भयो ,‘संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपथ्र्याे ।’ संविधान रक्षा गर्ने राष्ट्रपतिले ‘कुलिङ पिरियड’ लिएर अगाडि बढ्नु पर्ने समयमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेको यादवको भनाइ थियो ।
जनकपुरमा शुक्रबार ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसंग्रह’को लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले मुलुकमा हुलमुलको अवस्थाले लोकतन्त्रमाथि ग्रहण लागेको बताउनु भयो । डा.यादवले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद् विघटन, निर्वाचनको घोषणा गरी संवैधानिक निकाय र प्रशासन कब्जामा लिएको आरोप लगाउनु भयो । प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ’, उहाँले भन्नु भयो ।
विपक्षी र विज्ञसँग सल्लाह लिएर संविधानको उपलब्धिको संरक्षण गर्नु पर्ने राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको गल्तीमा साथ दिएको यादवले आरोप लगाउनु भयो । मुलुक र लोकतन्त्रमाथि आएको संकटले राति निन्द्रा लाग्न छोडेको उल्लेख गर्दै डा. यादवले मुलुकलाई आईसीयूबाट जनरल वार्डमा सहकार्य र समन्वय गर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस