रास्कोट नगरपालिकाद्धारा सरकारी आदेश उल्लंघन गर्दै यातायात व्यवसायीबाट अवैध पैसा असुली

५ जेठ, कालिकोट । रास्कोट नगरपालिकाले संघीय सरकारको आदेश उल्लंघन गर्दै यातायात व्यवसायीबाट अवैध पैसा असुली गरेको खुलासा भएको छ ।

नगरपालिकाले शान्तिघाटदेखि आरसीपी बजार हुदै सिपखानासम्म पुग्ने यातायातका सवारी साधनहरुबाट बाटो प्रयोग गरिएको नाममा अवैध पैसा असुली गरेको खुलासा भएको हो ।

नगरपालिकाले ट्रक तथा ठुला सवारी साधनबाट रु ५००, मिनी गाडी तथा हाईसबाट रु ३०० र जिप तथा बाेलेराेबाट रु १५० अवैध असुली गरिरहेको यातायात व्यावसायीहरुले गुनासो गरेका छन ।

यातायात व्यवसायीबाट असुली भाैचर

नगरपालिकाले शान्तिघाटमा नगरप्रहरीको व्यारियल नै राखेर अबैध पैसा असुली गरिदा समेत प्रहरी प्रशासन मुखदर्शक भएको छ ।

नगरपालिकाको आन्तरिक राजस्व संकलन शाखाका कर्मचारी डम्वर महराले अहिले पनि महिनामा ६० देखि ७० हजारसम्म असुली हुने गरेको बताउनु भयो । उहाँले नगरपालिकाको राजस्व कोषमा बार्षिक करिब ८ देखि १० लाखसम्म पैसा उठने गरेको ज्वाला खवरलाई बताउनु भयो ।

संघीय सरकारको नियम विपरित पैसा असुली गरिएको भन्दै संघीय सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पटक –पटक यस्तो अबैध असुली रोक्न आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि बेला –बेला पत्राचार गरेर यातायातका साधनबाट असुली रोक्न आदेश दिएको छ ।

गृहमन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरवार काठमाडौले आफ्नो चलानी नम्वर ६८५ राखि २०८१ कार्तिक १२ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर यातायात व्यवसायीबाट अवैध असुली रोक्न आदेश दिएको हो ।

गृहमन्त्रालयकाे आवश्यक कार्वाही पत्र

जिल्ला प्रशासन कार्यालय कालिकोटले समेत रास्कोट नगरपालिका सहित सबै स्थानीय तहका नाममा गृहको निर्देशन अनुसार २०८१ साल मंसिर २६ गते एक पत्राचार गर्दै यातायतका साधनबाट पैसा असुली गर्ने कार्य रोक्न ताकेता दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको ताकेता पत्र

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हस्ताक्षर गरेको पत्रमा गृहमन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरवार काठमाडौको चलानी नम्वर ६८५ मिति २०८१ कार्तिक १२ गतेको पत्र समेत स्थानीय तहमा पठाएको भन्दै निर्देशनको अवज्ञा गरेमा कानुन वमोजिम भई जाने चेतावनी दिएको छ ।

तर पनि अहिलेसम्म रास्कोट नगरपालिकाले कानुन विपरित अबैध असुली जारी राखेको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी भट्टराईले त्यो विषयमा पत्रचार पनि गरेको र छलफल गर्ने तयारी गरेको ज्वाला खवरलाई बताउनु भयो ।

‘नगरपालिकाले पैसा उठाउने काम रोक्छौ भनिरहेको छ, कालोपत्रे गर्ने बेलासम्म याे हटाउछाैं भनेको छ’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नु भयो । उहाँले जनताको गुनासो आएपछि पैसा उठाउन रोक्न पत्रचार गरिएको पनि स्वीकार गर्नु भयो ।

अबैध असुली अघिल्लो सरकारको पालादेखि सुरु भएपनि पछिल्लो नगरसकारले सरकारी आदेश अवज्ञा गर्दै जारी राखेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले समेत स्थानीय सरकारले राजमार्गमा उठाउने पटके करको नामको अबैध असुलीको विरोध गर्दै २०८१ कार्तिक ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्रचार गरी रोक्न माग गरेको छ ।

व्यवसायी राष्ट्रिय महासंघकाे पटके कर राेक्न पत्र

रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)को निर्देशनमा उक्त कार्य भएको यातायात व्यवसायीहरुले गुनासो गरेका छन । व्यवसायीहरुले भाडामा चढेने नगरप्रमुखको गाडीलाई र चिने जानेका पहुचबालाहरुलाई भने पैसा उठाउने नगरिएको समेत गुनासो गरेका छन ।

रास्कोट नगरपालिकाले सरकारको आदेशको अवज्ञा गर्दै अवैध रुपमा यातायात व्यवसयीबाट पटके करको नाममा अबैध असुली गरिरहेको यातायात व्यवसायीले बताएका हुन ।

व्यवसायीहरुले शान्तिघाट देखि आरसीपी बजारसम्मको बाटो रास्कोट नगरसरकारले पनि नबनाएको र उक्तबाटो र्याप भन्ने संस्थाले बनाएको भएपनि पैसा उठाएर व्यवसायीमाथि अत्याचार गरेको गुनासो गरेका छन ।

सडक प्रयोग गरे वापत सरकारको यातायात व्यवस्था कार्यालयमा आफूहरुले बार्षिक कर तिरिरहेको भन्दै व्यवसायीहरुले नगरसरकारले लिने छुट्टै कर अबैध भएको दाबी गरेका छन । व्यवसायीहरुले सरकारको आदेश यथाशिघ्र कार्यान्वयन गर्न नगरसरकारसंग माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस