५ जेठ, कालिकोट । आमा बुवाको अन्तरजातीय विवाहका कारण पीडित बनेकी रास्कोटकी सलमी खड्काले बुवा पदम खड्का (सुवास)बाट अंश पाउनुपर्ने दाबी गर्दै अंश भागको मुद्धा दर्ता गरेकी छन ।
सलमीले जिल्ला अदालत कालिकोटमा आईतवार आमा मिना नेपाली (रम्तेल) संरक्षक राखेर बुवा पदम खड्का (सुवास)बाट अंश पाउनु पर्ने दाबी गर्दै अंश भागको मुद्धा दर्ता गरेकी हुन ।
१८ बर्ष उमेर पुग्न लागेकी सलमीलाई बुवा सुवासले दलित आमाबाट जन्मिएकी छोरी भएकै कारण पालन पोषण देखि शिक्षा दिक्षा नदिएको दलित अधिकारकर्मीको आरोप छ ।
माओवादी केन्द्र रास्कोटका अध्यक्ष समेत रहनु भएका सुवासले सलमीलाई नागरिकता पनि दिन आनाकानी गर्नु भएको थियो । केही दिन अघि ज्वाला खवरले यसवारे समाचार प्रकाशन गरेपछि बुवा सुवासले शुक्रवार मात्र सलमीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनु भएको थियो ।
विभिन्न क्षेत्रको दवावबाट सुवासले नागरिकताको प्रमाणपत्र दिएपनि सलमीलाई पैतृक सम्पत्तिबाट अंश दिन भने आनाकानी गर्नु भएको छ ।
सलमीले आफु छोरी भएरपनि बुवा सुवासले अंश दिन आनाकानी गरेका कारण बाध्य भएर न्यायको ढोका ढकढक्याउन पुगेको बताएकी छन ।
उनले आफू गर्भमा हुदै वुवा पदमले गर्भपतन गराएर मार्न खोजेको भन्दै आमाको एकल प्रयासले यो धर्तिमा जन्मिन पुगेको फिरादपत्रमा खुलाएकी छन ।
सलमीले बुवा पदमलाई पटक –पटक मालपोत कार्यालय कालिकोट गई बण्डापत्र पास गरी दिन आग्रह गर्दा पनि आफूलाई उल्टै तथानाम गाली गरी धम्क्याएकाले न्यायको सरणमा पुगेको दाबी गरेकी छन ।
सलमीले मुलुकी देवानी संहिता २०७४ को दफा २२२ बमोजिम दण्ड सजाय गरी मुलुकी देवानी संहिता २०७४ को दफा २१६ बमोजिम संलोलको सम्पत्तिकाे मैले पाउने भाग लगाई अंश आफूलाई दिलाई दिन अदालत समक्ष अनुरोध गरेकी छन ।
सलमीले फिरादपत्रमा लेखेकी छन ‘मेरो अन्यायी वुवाले मलाई पढाउने तथा स्याहार सुसार गर्ने कुरा त परै जाहोस मेरो नेपाली नागरिकताको प्रमाणपत्र बनाउने कार्यमा समेत वेवास्ता गरेका हुन । पछि मेरो विषयलाई लिएर दलित अधिकारकर्मी तथा पत्रकारहरुले समाचार बनाएर प्रकाशन गरेपछि बाध्य भएर अन्यायी वुवाले मेरो नेपाली नागरिकता बनाई दिएका हुन ।’
उनले आफ्नो आमा मिना कुमारी रम्तेल (सुनार) र पदम बहादुर खड्का बिच तत्कालिन जनयुद्धको समयमा युद्धमा लडिरहेको अवस्थामा अन्तरजातिय विवाह २०६२ साल साउन १२ गते भएको फिरादपत्रमा उल्लेख गरेकी छन ।
सलमीले थप लेखेकी छन ‘मेरो आमा बुवा दुबै जनासंगै करिव ५ बर्षजति बस्नु भयो । दुवै जनाको सहवासबाट मेरो जन्म मिति २०६४ कार्तिक ६ गते सुर्खेत स्थित मावली घरमा भएको हो । मेरो जन्म हुनु भन्दा पहिला नै मेरो आमा वुवा विच अन्तरजातीय विवाहका कारण झैझगडा हुने र मेरो अन्यायी बुवाले आमालाई गर्वपतनका लागि दवाव दिने गरेका रहेछन । आमाको एकल प्रयासले मेरो जन्म सम्भव भएको हो ।’
सलमीले आफ्नो फिदारपत्रमा आफू जन्मेपछि वुवाले आफ्नो लालन पालनमा ध्यान दिनुको सट्टा आमासंग सम्वन्ध विच्छेद माग्ने तथा आमालाई शारिरीक तथा मानसिक यातना दिने गरेको उल्लेख गरेकी छन ।
उनले आफ्नो बाल्यकाल मावली घरमा नै वितेको भन्दै आफू ५ बर्षको हुदा वुवाले आफ्नो आमालाई दवाव दिएर निजसंग सम्वन्ध विच्छेद गरेको फिरादपत्रमा लेखेकी छन ।
‘आमासंग सम्वन्ध विच्छेद भैसकेपछि अन्यायी वुवाले मेरो पालनपोषण तथा शिक्षा दिक्षामा कुनै लगानी गरेनन् । मलाई आमाले निकै दुख गरी मावलीमा राखेर पालनपोषण तथा शिक्षा दिक्षा गराउनु भएको हो’ सलमीको फिरादपत्रमा भनिएको छ ।