हिरासतमा भएको मृत्युको विषयमा छानबिन समिति गठन, तीन जना पक्राउ

 

३ भाद्र,सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका विषयमा छानबिन गर्न छानविन समिति गठन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा छानविन समिति बनाइएको हो ।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेको प्रजिअ रिजालले बताउनु भयो ।

समितिले घटनाको बारेमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।
वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएपछि परिवार आन्दोलित छन ।

बिहीबार डिभिजन वन कार्यालय सुर्खेत मार्फत् पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पु¥याउने बित्तिकै मृत्यु भएको थियो । आफन्तले पक्राउ गर्नेहरूबाट कुटपिट भएपछि लामिछानेको मृत्यु भएको आरोप लगाएका छन् ।
घटना वारे अनुसन्धान गर्न बन कार्यालयका चार जना कर्मचारीका नामा किटानी जाहेरी परेकोमा तीन जना पक्राउ परेका छन ।

डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकहरू पिउसराज तिवार र सुरेन्द्र रानाविरूद्ध किटानी जाहेरी परेको हो ।

किटानी परेकामध्ये सहायक वन अधिकृत धितालबाहेक अरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परिवारले मृतकको शव पनि बुझेका छैनन् ।

डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रूख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस