असाज ३ काठमाडौँ । जनता समाजवादी पार्टीले संविधान दिवस बहिष्कार गर्दै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । संविधानका विभेदकारी प्रावधानहरू संशोधन नभएको भन्दै उसले दिवस नमनाउने भएको हो । यसअघि पनि मधेस केन्द्रित दलहरूले कहिले ‘कालो दिन’ का रूपमा त कहिले विरोधका कार्यक्रम गरेर बष्हिकार गर्दै आएका थिए ।
जनआन्दोलन, सशस्त्र द्वन्द्व, मधेस जन विद्रोह लगायतका बेला सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान र पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत अनादार गरी संविधान जारी भएको जसपाले दाबी गरेको छ ।
उसले विभेदकारी प्रावधान संशोधन नगरेसम्म संविधानको स्वामित्व विस्तार नहुनेसमेत जनाएको छ ।
‘विभेदकारी, अधुरो, अपुरो एवं त्रुटिपूर्ण संविधानले मधेसी, आदिवासी जनजाति, दलित, सिल्पी, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन,’ जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायत प्रावधान पनि अधुरो रहेको जसपाको जिकिर छ । जसपाले असोज ३ गते सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधान परिवर्तनका लागि दबाब दिने जनाएको छ ।