डा.केसीलाई तत्काल अस्पताल लैजान चिकित्सकको सुझाव

केसी अस्पताल जान मानेनन्


असोज ३ जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बस्नु भएका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका छन् । डा.केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानन्तर गर्नु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताउनु भयो ।

डा.केसी अनशन बसेको छैटौं दिनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भन्नु भयो प्रतिष्ठानको चिकित्सकको टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श दिएका छन् ।

तर केसीले भने अस्पताल जान र नशाबाट सलाइन लिन मान्नु भएको छैन ।
डा.केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबढी हुने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ । पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिकरुपमा घट्दै गएको चिकित्सकहरुले जनाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा.केसीले जुम्लामा सत्याग्रह थाल्नु भएको हो । डा.केसीको अनशनस्थलमा गएर एक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस