जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश थापा निर्वाचित

३ असोज,डडेल्धुरा । जनपत्रकार संगठन नेपालको सुदुर पश्चिम प्रदेश समन्वय समितिको प्रथम सम्मेलन आईतवार डडेलधुराको सदरमुकाममा सम्पन्न भएको छ । सम्मेलनले प्रकाश थापाको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ ।

प्रथम सम्मेलन समारोहका प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेर विश्वकर्माले सम्बोधन गर्दै जनपत्रकार संगठनको उद्देश्य, भूमिका र कार्ययोजनाबारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा जोड दिनुपर्ने वताउनु भयो ।

आम श्रमजीवी, उत्पीडित, निमुखा सर्वहारा वर्गको पक्षधरतामा उभिएर समाजका विकृति विसंगतिको विरुद्धका दृढ प्रतिबद्धताका साथ नयाँ राज्यव्यवस्था स्थापनाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु नै जनपत्रकारहरुको मूल धर्म रहेको उहाको भनाई थियो ।

आगामी दिनहरुमा देशकै सच्चा क्रान्तिकारी जनपत्रकार उत्पादन गर्ने र समाज परिवर्तन गर्ने मुख्य भूमिकामा रहने भन्दै नयाँ निर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिनु भयो ।

 

विशेष अतिथि नेकपाका डडेल्धुरा सचिव विजयले यो दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी देशमा देखिएका समस्यालाई समाधान दिन नसक्ने बताउनु भयो ।

उहाँले भन्नु भयो , “ संगठित तरिकाले दलाल राज्य व्यवस्थाको अन्त्यका लागि र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पत्रकारिता क्षेत्रबाट दृढ भएर लाग्न सबै जनपत्रकारहरुलाई अपिल गर्दछु ।”

प्रकाश थापाको अध्यक्षतामा भएको उक्त सम्मेलनमा पत्रकार महासंघका डडेल्धुराका सचिव पुष्कर भण्डारी र अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष गणेश बोहोराले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस