३ मंसिर,काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपा निकट १६ जबसहरुले थप संघर्षको कार्यक्रम घोषणा गरेका छन ।
जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेको मुल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै जनवर्गीय संगठनहरुले एक संयुक्त विज्ञप्ती जारी गरी थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन ।
घोषित संघर्षका कार्यक्रमअनुसार मंसिर ३ गते नेपाल आयल निगममा ज्ञापन पत्र पेश गर्ने, मंसिर ५ गते उद्योग आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र पेश गर्ने र मंसिर ६ गते नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम रहेको छ ।
जारी विज्ञप्तीमा अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिका प्रसाद कँडेल, जनगणतान्त्रीक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका अध्यक्ष व्यापक नेपाली, जनपत्रकार संगठन नेपालका संयोजक शेर वहादुर विश्वकर्मा, राज्य द्धारा वेपत्ता योद्धा परिवार समाज नेपालका संयोजक राम वहादुर थापा,अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापा,अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा संगठन नेपालका अध्यक्ष पाटन,र राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण वस्नेतले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।
विज्ञप्तीमा जनवर्गीय संगठनहरुले देउवा सरकारले मुल्य वृद्धि गरेर जनविरोधी चरित्र प्रर्दशन गरेको आरोप लगाएका छन । संघर्षका कार्यक्रम अन्तरगत आज नेपाल आयल निगमका कार्यालयहरुमा ज्ञापनपत्र वुझाएका छन ।