४० वर्षपछि भारतीय जेलबाट छुटे इलामका दुर्गाप्रसाद

७ चैत, काठमाडौं । सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बस्नु भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त हुनु भएको छ । उहाका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुट्नु भएको हो ।
कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको संचारर्मीलाई बताउनु भयो ।
उहाले भन्नु भयो , ‘आजै स्थलमार्ग हुँदै उहाँहरु घर फर्किँदै हुनुहुन्छ ।’

उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ उहालाई छाड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै दुर्गाप्रसाद छुट्नु भएको हो ।

अदालतले प्रत्येक ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ । त्यसो त अदालतले उहा करिब ४१ वर्ष जेल बसिसकेको बताउँदै थप समय कारागारमा राखेर न्यायको कुनै औचित्य पूरा नहुने पनि भनेको थियो ।

दुर्गाप्रसादको पक्षमा उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले बसह गर्नु भएको थियो । उहाहरुले न्यायको पक्षमा भन्दै निःशुल्क बहस गर्नु भएको थियो ।
१९ वर्षको हुँदा घरबाट हराउनु भएका दुर्गाप्रसादको ब्रतबन्ध पनि भएको छैन । ‘हिन्दु परम्परा अनुसार गर्नुपर्ने कार्यहरु भएका छैनन्, घरमा लगेर गर्नुपर्नेछ’।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे जानु भएको थियो । त्यहाँबाट आएको पैसा लिएर उहा काम खोज्दै दार्जिलिङ पुग्नु भएको थियो । दार्जिलिङमा हत्या आरोपमा पक्राउ पर्नु भएका उहा विभिन्न जेलमा सारिए, यता परिवारले उहा आन्दोलनमा मारिएको हुनसक्ने आशंका ग¥यो ।
दार्जिलिङमा भएको एक आगलागीमा उहाको कागजपत्र पनि जलेको थियो । त्यसपछि विक्षिप्त हुनु भएका उहा मानिसक रूपमा कमजोर बन्दै जानु भयो ।

सन् १९८२ को जनवरीमा तिम्सिना अदालती ट्रायलका लागि मानसिक रुपमा स्वस्थ नभएको दार्जिलिङ जिल्ला अदालतले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उहाले ४० वर्षसम्म कारागारमा बस्नु परेको थियो ।

कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उहालाई १० वर्षअघि देख्नु भएको थियो । गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उहा ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।

दासले थुनामुक्त भएपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गर्नु भएको थियो । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उहा ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भयो र उहाको पक्षमा माहोल बन्यो ।

दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उहालाई भेटे । नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उहालाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थियो ।
थुनामुक्त हुनु भएका दुर्गाप्रसाद शनिबार बेलुका नै इलामस्थित घर फर्किने महावाणिज्य दूत ईश्वराज पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस