७ चैत्र जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी) को अध्ययन सुरु भएको छ । चैत १ देखि पठनपाठन सुरु भएको हो । तर एमबीबीएसको अध्ययन भने अझै अनिश्चित भएको छ ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा स्नातकोत्तर तहको लागि ५ वटा कोटा दिएको छ ।
जनरल प्राक्टिस इमरजेन्सी मेडिसिनमा ३ जना र एनेस्थेसिया क्रिटिकल केयर तथा मेड्रियाट्रिकमा एक÷एकजनाको कोटा रहेकोले अध्ययन सुरु भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले बताउनु भएको छ ।
उहाँका अनुसार पाँचवटै कोटामा नेपाल सरकारले छात्रवृत्ति दिएको छ । अहिले तीनजना विद्यार्थी जुम्लामा पुगेर अध्ययन थालिसकेका छन् । दुईजना विद्यार्थी आउने क्रममा रहेको शिक्षाध्यक्ष थापाले जानकारी दिनु भयो । अध्ययनको लागि कपिलवस्तुबाट डा. वेदकुमार चौधरी, भक्तपुरबाट डा. रहिस कोजु र दार्चुलाका डा. ललितसिंह धामी जुम्ला पुग्नु भएको छ ।
उहाँहरुले कर्णालीजस्तो विकट क्षेत्रमा डाक्टरी शिक्षाको पहिलो ब्याचको विद्यार्थी हुन पाउँदा खुसी लागेको बताउनु भएको छ ।
जुम्लामा डाक्टरी शिक्षाको अध्ययन सुरु भएपछि कर्णालीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले लाखौं खर्च गरेर विदेश वा देशका अन्य सहरमा अध्ययनको लागि जानुपर्ने कर्णालीबासीको वाध्यता अन्त्य भएको बताउनु भएको छ ।
२०६८ सालमा स्थापना भएको प्रतिष्ठानले कर्णालीको स्वास्थ्य अवस्थामा निकै सुधार ल्याएको छ ।। २०२० सालमा स्थापना भएको जुम्ला जिल्ला अस्पतालको जगमा अहिले सुविधा सम्पन्न प्रतिष्ठान स्थापना भएको छ ।
कुनै समय अहेब र अनमीले धानेको अस्पताल अहिले प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा स्तरोन्नति भएको छ, जहाँ करिब ७५ जना विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् ।
यति हुदा हुदै पनि प्रतिष्ठानले नयाँ शैक्षिक सत्रदेखि एमबीबीएसको अध्ययन सुरु गर्ने तयारी गरे पनि चिकित्सा शिक्षा आयोगले अनुगमन नगर्दा पढाइ अनिश्चित भएको छ ।
पछिल्लोपटक असोजमा १९ औं सत्याग्रह बसेका डा. गोविन्द केसीसँग सरकारले ६ महिनाभित्र प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि सम्पूर्ण तयारी पूरा गरी विद्यार्थी भर्ना लिने सम्झौता गरेको थियो । ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसक्यौं, तर आयोगले अनुगमन नै गरेको छैन,’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भन्नु भयो ‘यसले गर्दा समयमै एमबीबीएसको पढाइ सुरु गर्न सकिएन ।’
प्रतिष्ठानको २०७४ सालमा बसेको पाँचौ सिनेटले एमबीबीएस कार्यक्रम सञ्चालनको लागि सैद्धान्तिक निर्णय गरेको थियो ।
२०७५ र २०७६ सालमा बसेका सिनेटले पनि सोही निर्णयलाई निरन्तरता दिएको छ ।
रजिष्ट्रार काफ्लेका अनुसार यसबीच पर्याप्त पूर्वाधार निर्माण गरिनुका साथै जनशक्ति व्यवस्थापन पनि गरिएको छ ।
२ करोड लगानीमा बेसिक साइन्सको प्रयोगशाला तयार पारिएको छ ।
‘अत्याधुनिक प्रयोगशाला निर्माण भएपछि पूर्वाधारको हिसाबले लगभग तयारी पूरा भएको छ, अस्पतालमा उच्च प्रविधियुक्त उपकरण पनि जडान भइसकेका छन्,’ उहाले भन्नु भयो , ‘एमबीबीस सञ्चालन गर्न अब छुट्टै आर्थिक भार पनि नपर्ने भएकोले खासै गाह्रो छैन ।’
प्रतिष्ठानले २०७६ साउनमा एमबीबीएसको पाठ्यक्रमसमेत तयार पारिसकेको छ । प्रतिष्ठानले बनाएको पाठ्यक्रम समुदाय केन्द्रित रहेको रजिष्ट्रार काफ्लेले बताउनु भयो ।
प्रतिष्ठानको ऐनमा एमबीबीएस कार्यक्रमतर्फ कूल कोटाको ४५ प्रतिशत सिट साविक कर्णालीका ५ जिल्लाका साथै पिछडिएको क्षेत्रमा पर्ने बाजुरा, बझाङ, अछाम र जाजरकोटका विद्यार्थीलाई आरक्षण दिने भनिएको छ ।
बाँकी सिटमा देशभरिका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्नेछन् । उक्त प्रावधानले कर्णालीमै कर्णालीका व्यक्ति चिकित्सक हुने अवसर पाउने छन् ।
प्रतिष्ठानले अहिलेकै अवस्थामा ५० जनासम्म भर्ना लिने लक्ष्य राखेको छ । यस हिसाबले पनि वर्षेनि लक्षित जिल्लाका २३ जनाले डाक्टर बन्ने अवसर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस