विकल्प बिना घरटहरा भत्काउने नगरको निर्णय प्रति रास्काेटका व्यावसायीकाे आपत्ति

७ बैशाख, कालिकोट । रास्काेट नगर सरकारले विकल्प बिना आरसिपी बजारका घरटहराहरू भत्काउने तयारी गरेपछि व्यावसायीहरूले आपत्ति जनाएका छन ।

व्यावसायीहरूले जनयुद्धकालमा जनसरकारले बजार स्थापना गरि आफूहरूलाई बसालि लामाे समयदेखि व्यापार व्यावसायी गरिरहेको अवस्थामा नगर सरकारले विकल्प बिना उठिबास गर्न लागेको भन्दै आपत्ति जनाएका हुन ।

बिहीबार रास्काेट नगरपालिकाको सभाहलमा आयाेजित व्यावसायीहरूकाे कार्यक्रममा बाेल्दै बजार व्यवस्थापन समितिका अध्यक्ष सुशील शाहीले नगर सरकारको कडा आलोचना गर्दै रैती माथि राज गर्ने प्रवृत्ति देखिएको बताउनु भयो ।

उहाँले नगर सरकारले विकल्प बिना व्यावसायीलाई उठिबास नगर्न आग्रह गर्दै व्यावसायीहरू कुनै पार्टी र नगर सरकारको दास नभएको बताउनु भयो ।

अध्यक्ष शाहीले नगर सरकारले व्यावसायीहरूलाई थाहा नदिई जनसत्ताले बसालेकाे बजारको जमिनलाई आफ्नो नाममा गरि व्यावसायीलाई दुख दिएको बताउनु भयो ।

बजार व्यवस्थापन समितिका उपाध्यक्ष गाेर्खबहादुर शाहीले स्थानीय सरकारले जनसत्ताकाे निर्णय उल्ट्याएकाे आराेप लगाउदै अहिलेको सरकार पिडा माथि मलमपट्टी लगाउने सरकार नदेखिएको बताउनुभयो ।

उहाँले ५० प्रतिशत घर धनी र व्यावसायीहरूकाे क्षतिपूर्ति नगर सरकारले दिनुपर्ने माग गर्दै यदि त्यसाे हुन नसके व्यावसायीहरूले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा व्यावसायी तथा बजार व्यवस्थापन समितिका सदस्य जगदीश न्याैपानेले व्यावसायीहरू एकताबद्ध नभएको भन्दै एकताबद्ध भएर क्षतिपूर्तिका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो ।

व्यावसायी कमलराज बरालले जबर्जस्ती घरटहरा हटाउन खाेजिए नगरपालिकाको गेटमा तालाबन्दी गर्न व्यावसायीहरू तयार हुनुपर्ने बताउनुभयो ।

व्यावसायी निल सुनारले विकल्प बिना घरटहरा हटाउन खाेजिए बैंक सहित सबै बजार बन्द गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “याे जनयुद्धको बेला जनसत्ताले स्थापना गरेको बजार हाे, जनसत्ताले वितरण गरेका घडेरीमा घरटहरा बनाएका हुन विकल्प बिना उठाउन मिल्दैन ।”

कार्यक्रममा सहभागी प्रदिपे सुनार र दिनेश शाहीले जनसत्ताले वितरण गरेका घडेरी र स्थापना गरेको बजार विस्थापित गर्न नहुने बताउनुभएको थियो ।

नगर सरकारले संघीय याेजना अनुसार ३० वटा व्यावसायिक टहरा बनाउने भन्दै अव्यवस्थित घरटहरा भत्काउन लागेको दावी गरेको छ ।

नगर सरकारले तत्काल पहिलो चरणमा ४५ वटा घरटहरा भत्काउने तयारी गरेको छ । यदि ४५ घरटहरा भत्किएमा ५१ व्यावसायी विस्थापित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस