६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्तिको आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नु भएको हो । यसका लागि उहाले जम्मा २१ घण्टा समय दिनु भएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।
उक्त पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।
राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस