६ असार । राजनीतिको रथ जतिबेला जता पनि घुम्न सक्छ । मध्यपूर्वमा जारी इजरायल र इरानबीचको युद्ध त्यस्तै एउटा उदाहरण बनेको छ । कुनै बेला साख्खै सम्बन्ध भएका यी मुलुक अहिले युद्धमा होमिएका छन । इजरायल र इरानबीच साझा सीमा छैन तर एक अर्काको आकाशमा मिसाइल र ड्रोन हानाहानको अवस्था छ ।
इजरायलले मिसाइलसँगै आफ्नो लडाकु विमान अन्य मुलुकको आकाश हुँदै इरानभित्रै पुगेर क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले छिमेकी मुलुकका आकाश हुँदै मिसाइल तथा ड्रोन इजरायलमा प्रहार गरेको छ
कुनै बेला इरानले नै इजरायललाई राष्ट्रको मान्यता दिने दोस्रो मुस्लिम बाहुल मुलुक थियो । अमेरिकी र बेलायतसँग उसको राम्रो सम्बन्ध थियो । इरानी क्रान्तिपछि इस्लामिक स्टेटको घोषणापछि इरानले इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएको छैन । इजरायलले पनि इरानलाई मध्यपूर्वमा अशान्ति फैलाउने शक्तिको रूपमा इरानलाई देख्छ । जारी इजरायल–इरान युद्ध तेस्रो विश्व युद्धको रिहर्सल जस्तो देखिन्छ ।
आणविक हतियारबाहेक युद्धमा प्रयोग हुने धेरै प्रविधि तथा हतियारहरू प्रयोग भएका छन । पहिलो र दोस्रो विश्व युद्धमा जसरी सैनिकहरू एकअर्काको देशका सिमामा हात हालाहाल गरेर, बन्दुक पड्काउँदै भिडेका छैनन । यो युद्ध ब्यालेस्टिक र क्रुज मिसाइल, ड्रोन तथा रकेट लन्चर, उच्च गतिका नयाँ पुस्ताका लडाकु विमान र त्यसमा लाग्ने मिसाइल, सुसज्जित प्रतिरक्षा प्रणाली र तीनमा प्रयोग हुने क्षेप्यास्त्रहरू देख्न सकिन्छ । बढी लक्षित संरचना ध्वस्त बनाएर घुँडा टेकाउने रणनीतिमा केन्द्रित छ यो युद्ध ।
इजरायल र इरानबीचको सीमा १२ सय देखि १५ सय किलोमिटरको दूरीमा पर्छ । जेरूसेलम र तेहरानबीचको दूरी १८ सय ५० किलोमिटर छ । तर, यिनले अहिले प्रहार गरिरेहका क्षेप्यास्त्र जोर्डन र इराकी आकाश हुँदै जान्छन । कहिले सिरियाको आकाश पनि प्रयोग भइरहेको छ ।
यो युद्धमा इजरायलले अमेरिकामा निर्मित एफ सेरिजका लडाकु विमान र त्यसबाट मार हान्न सक्ने क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । यस्तै इरानले ब्यालेस्टिक र क्रुज मिसाइलसहित ड्रोन हमला गरेको छ । दुवै मुलुकले ती क्षेप्यास्त्र हमलाबाट बच्नका लागि प्रतिरक्षा प्रणाली पनि बनाएका छन । जहाँ जमिनमा क्षेप्यास्त्र खस्नुअघि नै आकाशमै प्रतिरक्षा प्रणालीमा जडित मिसाइल नष्ट गरिदिन्छ । इजरायलको ‘आइरन डोम प्रतिरक्षा प्रणाली’ कै कारण कम मात्रामा इरानी मिसाइलहरू इजरायली भूमिमा खसेका छन ।
ब्यालेस्टिक मिसाइल १२ मिनेटभित्रमा, क्रुज मिसाइल दुई घन्टा, ड्रोनहरू घन्टौं लगाएर पुग्छन । भूगोल र सैनिकको संख्या हिसाबले इरान इजरायलभन्दा ठूलो देखिन्छ । प्रविधिले सुसज्जित इजरायलले इरानी आकाशमा आफ्नो दबदबा बनाएको छ । यो युद्धमा धेरै क्षति इरानलाई भएको छ । संरचना र सर्वसाधारणको क्षति बढी इरानलाई भएको छ ।
पछिल्लो युद्धको सुरूवात इरानका आणविक कार्यक्रमसँग जोडिएको छ । इरानको आणविक कार्यक्रमले खतरा उत्पन्न गराएको भन्दै इजरायलले इरानका केही आणविक भट्टी केन्द्र र परमाणु वैज्ञानिकहरूलाई लक्षित गरेर आक्रमण गरेपछि दुवै युद्धमा होमिएका हुन ।
इरानका युरेनियम प्रशोधन केन्द्रहरू ध्वस्त पारेर मात्रै आफ्नो मुलुक सुरक्षित रहने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताउँदै आएका छन । अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इरानले आणविक सम्झौता उल्लंघन गर्दै प्रशोधित युरेनियमको मात्रा ६६ प्रतिशत र्पुयाएको सार्वजनिक भएपछि इजरायलले आक्रमण थालेको देखिन्छ ।
पछिल्ला दिनहरूमा भने इरानको फोर्दोमा रहेको युरेनियम प्रशोधन केन्द्रलाई ध्वस्त बनाएमात्रै युद्ध रोकिने इजरायलले बताउँदै आएको छ । यो युरेनियम प्रशोधन केन्द्र पहाडी इलाकाभित्र निर्मित एक भूमिगत आणविक केन्द्र हो । यो जमिनदेखि करिब ९१ मिटरभित्र गहिराइमा निर्माण गरिएको छ । यो केन्द्रलाई इरान र रुसी प्रतिरक्षा प्रणालीले सुरक्षा दिएका छन ।
फोर्दो केन्द्रमा युरेनियम प्रशोधन ६६ प्रतिशत पुगेको सार्वजनिक भएको थियो । इजरायलले इरानका नतान्ज र इस्फाहानमा रहेका आणविक केन्द्रहरूमा पनि आक्रमण गरेको छ । त्यहाँ के कस्तो क्षति भएको भन्ने सन्दर्भमा विस्तृत विवरण आइसकेको छैन । यद्यपि रेडियोधर्मी विकिरणहरू नभेटिएको बताइएको छ ।
इरानको फोर्दो आणविक केन्द्रले ६० प्रतिशतसम्मको प्रशोधित युरेनियम निकालेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय ९आईएईए०ले रिपोर्ट सार्वजनिक गरेको थियो । प्राकृतिक रूपमा युरेनियममा यू–२३८ र यू–२३५का आइसोटप्स पाइन्छन । जसमा यू–२३८ को मात्रा ९९।२७ प्रतिशत र यू–२३५को मात्रा ०।२७ प्रतिशत मात्रै हुन्छ । यू–२३८मा ९२ वटा प्रोटन र १४६ वटा न्युट्रोन हुन्छ । यू–२३५मा ९२ वटा प्रोटन र १४३ वटा न्युट्रोन हुन्छ ।
बाँकी रहेको ०।०१ प्रतिशतमा अन्य आइसोटप्स हुन्छन । युरेनियम प्रशोधन केन्द्रहरूमा चाहिँ युरेनियममा भएका आइसोटप्सको मात्रा परिवर्तन गरेर यू–२३५ को मात्रा बढाउने हो । प्रशोधन गर्दा यू–२३५ को मात्रा ९० प्रतिशतभन्दा बढी र्पुयाइन्छ जुन आणविक हतियार बनाउन योग्य हुन्छ ।
फ्रान्सका तत्कालीन राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीलाई साक्षी राखेर सन २००९ को जी–२० सम्मेलनमा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबमाले इरानको फोर्दो परमाणु केन्द्रका बारेमा विश्व समुदायलाई जानकारी दिएका थिए । फोर्दोमा उच्च गुणस्तरको प्रशोधित युरेनियमको मात्रा बढ्दै गएको र वार्षिक २ वटा परमाणु हतियार उत्पादन गर्ने इरानी योजना रहेको इजरायलले सन २०१८मा दाबी गरेको थियो । केन्द्रमा २७ सय वटा सेन्ट्रीफ्युज रहेको अनुमान छ । सेन्ट्रिफ्युज प्रतिक्रिया गराएर प्राकृतिक रूपमा पाइने युरेनियमबाट प्रशोधित युरेनियम निकालिने गरिन्छ ।
२०१५ मा स्वीटजरल्यान्डमा इरानको परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा शक्तिराष्ट्रहरुसँग ‘इरान सम्झौता’ गरेर इरानमाथि लगाइएका प्रतिबन्ध फुकुवा पनि गरिएको थियो । तर इरानीले आफ्नो परमाणु कार्यक्रम नरोकेपछि इजरायल क्रुद्ध बन्दै आएको छ ।
हाल जमिनमुनि पुगेर बंकरलाई पनि ध्वस्त बनाउन सक्ने हतियार अमेरिकासँग मात्रै छ । त्यो हो जीबीयू–५७ एरबी म्यासिभ अर्डिनेन्स पेनिट्रेटर (एमओपी) बम । अहिलेको युद्धमा यही बमको चर्चा छ । यो बमले जमिनदेखि भित्र ६०र६१ मिटरसम्मको सुरङमा पसेर विस्फोट हुने क्षमता राख्छ । ६ मिटर लम्बाइ रहेको यसको तौल १३ हजार ६ सय केजी छ । यसको विशेषता नै बंकर र सुरङभित्र पसेर २ सय फिटभित्रसम्म मार हान्न सक्नु हो । आणविक हतियारलाई बिर्सने हो भने यो बम संसारकै सबैभन्दा बढी शक्तिशाली बमका रूपमा लिन सकिन्छ ।
एमओपी बनाउनुअघि अमेरिकाले यस्तै किसिमको अर्को बम बनाएको थियो । जसलाई सबै बमको आमा पनि भनियो, ‘म्यासिभ अर्डिनेन्स एयर ब्लास्ट’ (एमओएबी) । यो बमले जमिनको सतहमाथि धरै नै क्षति गराउन सक्छ । यसको प्रयोग अमेरिकाले विभिन्न ठाउँमा गरिसकेको छ । एमओएबी बमको पहिलो पटक सफल परीक्षण अमेरिकाले इराक युद्धका बेला सन २००३ मा भएको थियो । यो बमको प्रयोगचाहिँ सन २०१७ मा अफगानस्तानको एचिन जिल्लामा इस्लामिक स्टेटका लडाकुहरूले प्रयोग गर्ने टनेल नष्ट पार्न प्रयोग गरेको थियो ।
एमओएबी ३० फिट उचाइ भएको ९ हजार ८ सय केजीको बम हो । यो बमलाई एमसी–१३० विमानबाट पनि खसाल्न सकिन्छ । एउटा बनाउन करिब १६ मिलियन अमेरिकी डलर खर्च लागेको अनुमान छ । जीबीयू–५७एरबी चाँही अमेरिकाको बी–२ स्पिरिट बमवर्षक विमानले मात्रै बोकेर तोकिएको ठाउँमा खसाल्ने क्षमता राख्छ । जीपीएस गाइडेड यो बम बोक्ने विमान नर्थरोप ग्रुमान कर्पोरेसनले निर्माण गरेको हो । यो कम्पनीले अन्तरिक्ष र रक्षा प्रणालीसँग सम्बन्धित यान तथा उपकरण निर्माण गर्छ ।
संसारकै सबैभन्दा शक्तिशाली मानिएको नासाको जेम्स वेब स्पेस टेलिस्कोपको निर्माण पनि यही कम्पनीले गरेको हो । बी–२ स्पिरिट बमवर्षक विमान निर्माण गर्न १।१५७ बिलियन अमेरिकी डलर खर्च भएको अमेरिकी एयर फोर्स वानले जनाएको छ । एयर फोर्सको आधिकारिक वेबसाइटका अनुसार कम्पनीले यस्ता विमान अमेरिकासँग २१ वटा छन् । एक पटकमा यो विमानले २ वटासम्म जीबीयू–५७ एरबी सेरिजका बम बोकेर मार हान्न सक्छ ।
बी–२ बम्बरको पछिल्लो प्रयोग गत वर्ष यमनका हुथी विद्रोहीहरूलाई लक्षित गरिएको थियो । निकै नै महँगो मूल्यमा तयार गरेर निर्माण गरिएको यो विमान अमेरिकाले खास मिसनका लागि मात्रै प्रयोग गर्छ । यो बम वर्षक विमान अन्य बमहरू बोक्नका लागि प्रयोग हुन्छ । विशेष क्षमता र सजिलैसँग डिटेक्ट गर्न मुस्किल हुने भएकाले यो बम वर्षक विमानलाई ‘स्टिल्थ बम्बर’को रुपमा चिनिन्छ ।
फोर्दो आणविक भट्टी केन्द्रलाई ध्वस्त पार्ने सक्ने एमओपी सेरिजको जीबीयू–५७एरबी बमको तौल १३ हजार ६ सय केजी छ । जहाँ विस्फोटक पदार्थ २ हजार ७ सय केजी मात्रै रहेको छ । यो २० फिट लम्बाई र ८० सेन्टिमिटर चौडा भएको बम हो जसलाई बी–२ स्पिरिट बमवर्षक विमानमार्फत मात्रै प्रयोग गर्न सकिने अमेरिकी रक्षा मन्त्रालयले निकालेको एमओपी कार्यक्रमको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकी कम्पनी बोइङले निर्माण गरेको यो बमको पहिलो परीक्षण सन २०१२मा भएको थियो । जमिनमुनि पूर्ण रूपमा सुरक्षित बनाएर निर्माण गरिएको यो केन्द्रलाई ध्वस्त पार्न त्यति सजिलो नरहेको पनि बताइएको छ । बेलायतको थिंक ट्यांक रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटले एमओपी बमले फोर्दो केन्द्रलाई पहिलो आक्रमणमा नपुग्ने भएकाले पटक–पटकको आक्रमणले मात्रै हुने बताएको छ ।
यो युद्धमा अमेरिका पूर्ण रूपमा संलग्न भए इरानले अमेरिकी सैन्य इलाकाहरूमा आक्रमण गर्ने धम्की दिएको छ । प्राकृतिक ग्यास र तेलमा धनी इरानमा सिया मुसलमानको बाहुल्यता रहेको छ । मध्य पूर्वमा ग्यास र तेलको भण्डारण र उत्खनन सुरु भएपछि इरानको अर्थतन्त्रले गति लिन थालेको मानिन्छ । विश्वका २० प्रतिशत उत्पादित तेल इरानको दक्षिणी क्षेत्रमा पर्ने ‘स्ट्रेट अफ हरमुज’ हुँदै जान्छ । जुन पर्सियन र ओमनको खाडी नजिक छ । यो क्षेत्र इरानको नियन्त्रणमा छ । जसका कारण पनि बेला बेला युद्ध हुने गर्छ । कान्तिपुर डट्कमबाट