दुर्घटनाका गम्भीर घाईते कानुनमन्त्री सिंहको निधन

५ असार, धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते हुनु भएका मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते हुनु भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिनु भयो ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टर मार्फत नेपालगञ्ज कोहलपुर मेडिकल कलेज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याईएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस