प्रधानमन्त्रीमा ओली र देउवाको दाबी

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भन्दै संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न अनुरोध गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्ने आधार २१ घण्टाभित्र पेश गर्न आहृवान गर्नु भएको थियो ।

प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नु भएका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको साथ आफूलाई रहेको दाबी गर्नु भएको छ । दावी पत्रमा एमाले अध्यक्ष ओलीसँगै जसपा अध्यक्ष मध्येका एक महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गर्नु भएको छ ।

कांग्रेस सभापति देउवाले भने १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी पेश गर्नु भएको छ । उहाँले कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एमालेको माधवकुमार नेपाल समूहका २६, जसपा उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदको हस्ताक्षर पेश गर्नु भएको छ ।

लगतै एमाले संसदीय दलका नेता ओलीले नेपाल समूहका २६ सांसदको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ । पत्रमा उहाँले हस्ताक्षर गर्ने सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने जानकारी समेत गराएको उहाँ निकट स्रोतले जनाएको छ ।

के छ राष्ट्रपतिको विकल्प ?

संविधानको धारा ७६ को उपधारा (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

अब राष्ट्रपतिले ओली र देउवा मध्ये कसलाई प्रधानमन्त्री नियुक्त गर्नु हुन्छ भन्ने आम चासो छ । यसबारे अहिलेसम्म राष्ट्रपति कार्यालयले औपचारिक रुपमा केही बताएको छ ।

यद्यपि प्रधानमन्त्रीमा देउवाको दावी प्रस्तुत गर्न शीतल निवास पुगेका नेताहरुसँग राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको पनि दावी आएकाले सल्लाह गर्ने र कानूनी पक्ष पनि हेर्ने बताएको त्यहाँ उपस्थित एक नेताले जानकारी दिएका छन ।
निर्णय लिँदा राष्ट्रपति सामू पहिलो विकल्प ओली वा देउवामध्ये एकलाई प्रधानमन्त्री नियुक्त गर्ने हो ।

संवैधानिक कानूनका जानकारहरु धारा ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्नेले सांसदको व्यक्तिगत रुपमा समर्थन जुटाउनुपर्छ ।

कुनै पनि पार्टीले हृवीप नलगाएका कारण सांसदहरुले प्रधानमन्त्रीमा कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा समर्थन गर्न सक्ने संविधानविद् वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले वताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस